२९ बैशाख २०८१, शनिबार

१६५ सहित प्रधानमन्त्री देउवाले पाए विश्वासको मत



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभामा विश्वासको मत पाएका छन् ।

प्रतिनिधि सभा दोस्रो पटक पुनः स्थापना भएपछिको पहिलो बैठकमै देउवाले विश्वासको मत लिएका हुन् । देउवाको पक्षमा १६५ मत परेको र विपक्षमा ८३ मत परेको थियो । र मत दिन्न भन्ने पक्षमा १ मत परेको सभामुख अग्निप्रसाद सापकोटाले जानकारी गराए । भने कुल २४९ सांसद  उपस्थित रहेका थिए ।

सर्वाेच्च अदालतले २८ असारमा दोस्रो पटक प्रतिनिधि सभा पुनः स्थापना गर्दै देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको थियो । देउवालाई २९ असारमा राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनियताको सपथ गराएकी थिइन् । देउवाले प्रधानमन्त्री बनेको ७ दिनमै विश्सासको मत लिने आँट गरेका हुन् ।

सबैले गरेको अनुमान विपरित देउवाले आजै विश्वासको मत लिने निर्णय गरेका थिए । हिजोसम्म देउवाले तत्काल विश्वासको मत लिने संकेत गरेका थिएनन् । तर आज एक्कासी देउवाले विश्वासको मत लिने बताएपछि एकाएक नेपाली राजनीति तरंगित बनेको थियो ।

कतिपयले देउवाले एक महिना भित्र विस्तारै विश्वासको मत लिने आकलन गरेका थिए । देउवा नेपालको संबिधान २०७२ को धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्री बनेका हुन् । सो धारा अन्तर्गत बनेको प्रधानमन्त्रीले एक महिनाभित्र विश्वासको मत लिनु पर्ने संवैधानिक प्रावधान छ । यदि देउवाले विश्वासको मत नपाएको भए प्रतिनिधि सभा भंग गरेर ६ महिनाभित्र निर्वाचन गर्नुपर्ने हुन्थ्यो । तर त्यो अब टरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार