२३ बैशाख २०८१, आईतवार

बर्दगोरिया न्यायिक समितिः चार वर्षमा १३६ मुद्दा दर्ता



बौनिया । बर्दगोरिया गाउँपालिकाको गठित न्यायिक समितिमा चार वर्षको अवधिमा एक सय ३६ मुद्दा दर्ता भएका छन् ।

नेपालको संविधानको भाग १७ को धारा २१७ मा देहायबमोजिमको कानुन बमोजिम आफ्नो अधिकार क्षेत्र भित्रका विवाद निरूपण गर्न गाउँपालिका वा नगरपालिकाले प्रत्येक गाउँपालिकामा उपाध्यक्षको संयोजकत्वमा र प्रत्येक नगरपालिकामा उपप्रमुखको संयोजकत्वमा गठन हुने ३ (तीन) सदस्यीय समिति नै न्यायिक समिति हो ।

बर्दगोरीया गाउँपालिकाको न्यायिक समितिमा उपाध्यक्ष भगवती देवि डगौरा थारु रहेकी छिन् । न्यायिक समितिले सामान्य खालका मुद्दा मामिला, जग्गा जमिन, अंशबण्डा, साँध विवाद जस्ता मुद्दाको टुङो लगाउने गर्दछ ।

पालिकाको न्यायिक समितिमा आ.व.२०७४/०७५ मा २३ वटा मुद्दाहरू दर्ता भएका थिए । जसमध्य मेलमिलापद्धारा मिलापत्र भएको विवाद १३ वटा, प्रक्रियामा रहेको विवाद ६ वटा, ठगी विवाद मुद्दा १ वटा, अदालत पठाइएको वा बदर भएको ३ वटा मुद्दा रहेका थिए ।

यसैगरी आ.व.२०७५/०७६ मा ५२ वटा मुद्दाहरू दर्ता भएका थिए भने ४० मुद्दाको सहमति भएको, फैसला भएको १ वटा, जिल्ला अदालत गएको वा अगाडी बढाइएको ७ वटा जिम्मेवारी सरी आएको चार वटा रहेका थिए ।

यस्तै आ.व.२०७६/०७७ मा ३८ मुद्दाहरू दर्ता भएका थिए । दर्ता भएका ३८ मुद्दामध्य २४ मुद्दाको सहमति भएको, जिल्ला अदालत गएको वा अगाडी बढाईएका र बदर गरिएका ११ वटा, जिम्मेवारी सरि आएको ३ वटा मुद्दा रहेको उपाध्यक्ष तथा संयोजक डगौरा थारुले बताईन ।

यसै गरी आ.व.२०७७/०७८ मा २३ वटा मुद्दाहरू दर्ता भएका थिए । जसमध्य सहमति भएको १२ वटा, जिल्ला अदालत गएको वा अगाडी बढाइएका र बदर गरिएका, १ वटा प्रक्रियामा रहेका १० वटा मुद्दा तथा विवादहरू रहेको न्यायिक समिति सदस्य टंकराज ओलीले बताए ।

बर्दगोरीया गाउपालिकाको न्यायिक समितिमा अदालत जस्तै दोषिलाई सुनुवाई हुदा कटघरामा उभ्याईने अभ्यास पनि गरीएको छ । पालिकाको न्यायिक समितिमा कानुन तथा निति निर्माण सम्बन्धि पुस्तकहरू पनि रहेको र न्यायिक समितिको छुट्टै व्यवस्था भएका कारण जिल्लाकै उत्कृष्ट न्यायिक समिति रहेको पनि संयोजक भगवती देवि डगौरा थारुले बताईन ।

कानुन विज्ञ नहुदा विवाद फैसलामा केही समस्या आएता पनि आफुले जाने बुझे सम्मका विवादहरूको निरुपण गदै आएको संयोजक डगौरा थारुले बताईन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार