२३ बैशाख २०८१, आईतवार

बाढीपहिरोबाट दुई सय बढी परिवार विस्थापित



बाजुरा । बाजुराका बाढीपहिरो पीडितहरूका लागि बल्ल घर निर्माण तथा जमिन व्यवस्थापन कार्य सुरु भएको छ ।

बाजुराका दुइ सय बढी घरपरिवार बाढीपहिरोबाट विस्थापित भएका छन् ।

नेपाल सरकारले बाढीपहिरो पीडितका लागि घर निर्माण तथा पुर्नस्थापना गर्न अनुदान दिएपछि सो काम सुरु हुने भएको छ ।

पहिलो पटक बाजुराका २३२ परिवारलाई जग्गा खरिद र घर निर्माणका लागि अनुदानको व्यवस्था गरिएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।

अस्थायी रुपमा टहरा निर्माणका लागि सुरुमा पचास हजार अनुदान दिने जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीले वताए ।

उनले भने, जमिन नभएको परिवारलाई जमिन खरिद गर्न ३ लाख र घर निर्माणका लागि ५ लाख दिने भएको छ । बाढिपहिरो पीडित भएका प्रतिपरिवारले ८ लाख पचास हजार रुपैयाँ पाउने भएका छन् ।

घर निर्माण गर्ने परिवारलाई ५ लाख ५० हजार अनुदान दिन शुरु गरेको छ ।

अस्थायी टहरा निर्माणका लागि ५० हजार भने २ सय ३२ परिवारलेनै पाउने भएका छन् ।

एक ठाउँको घर भत्किए पनि नीजको अर्को ठाउँमा घर भएपछि उसले यो रकम नपाउने भएका छन् ।

विपद्बाट आवास बिहीन बनेका नागरिकलाई अनुदान दिन बनेको कार्यविधि अनुसार रकम वितरण गर्न थालिएको जिल्ला प्रशासन कार्यालय बाजुराका सुचना अधिकारी सकीर भण्डारीले बताए ।

उनले भने, ‘जेठ ७ गते जिल्लाका नौ ओटै स्थानीय तहबाट सिफारिस भएर आएका २३२ घर परिवारको सिफारिस राष्ट्रिय बिपद जोखिम न्यूूनीकरण तथा व्यवस्थापन प्राबिधिकरण मार्फत सिफारिस भई कामको थालनी भएको हो ।’

पुनःनिर्माण तथा पुनःस्थापना लागि सङ्घीय सरकारबाट ६ करोड ६९ लाख ३२ हजार निकाशा भएको छ । जग्गा खरिद लागि भने जग्गा किन्नुपर्ने परिवार छनेट भएपछि मात्र सङघीय सरकार सँग माग गर्ने प्रशासन कार्यलय बाजुराले जनाएको छ ।

यसमा ३० प्रतिशत प्रदेश सरकारले, नगरपालिकाले १५ प्रतिशत तथा गाउँपालिकाले १० प्रतिशतका दरले थप बजेट व्यहोेर्ने कार्यविधिमा उल्लेख गरिएको छ ।

कार्यविधि अनुसार घर निर्माणका लागि हिमाली जिल्लामा ५ लाख, पहाडी जिल्लामा ४ लाख र तराईका जिल्लामा तीन किस्तामा गरेर ३ लाख दिने रहेको छ ।

घरवास विहिन भएका बाढीपहिरो पीडितको घर निर्माण हुने भएपछि उनीहरूको मुहारमा पनि खुःसी छाएको छ ।

अविरल वर्षात्का कारण बाढीपहिरो गएपछि बाजुराका अधिकाशं स्थानीयवासीन्दा अहिले त्रिपालको मूनीको बास गर्दै आएका छन्् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार