कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार उमादेवी वादीलाई
धनगढी । मानव अधिकार तथा शान्ति समाजद्वारा स्थापित ‘कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार‘–२०७७ उमादेवी वादीलाई प्रदान गर्ने निर्णय गरिएको छ ।
हाल सुदुरपश्चिम प्रदेश सभा सांसद रहेकी वादीले मानव अधिकाररसामाजिक न्यायका लागि गरेको उल्लेखनीय योगदानका लागि मानव अधिकार तथा शान्ति समाजले उनलाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।
२०७८ मंसिरमा अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका दिन आयोजना गरिने कार्यक्रममा १ लाख १० हजार रुपैया पुरस्कार राशी र सम्मानपत्र सहित वादीलाई पुरस्कृत गरिने मानव अधिकार तथा शान्ति समाजका सभापति गोविन्द खनालले बताए ।
२०१८ साल फागुन ४ गते जन्मिनुभएकी उमादेवी वादीले २०६४ सालमा राष्ट्रिय वादी अधिकार संघर्ष समितिको संयोजकका रुपमा ४८ दिन लामो वादी आन्दोलनको नेतृत्व गरेकी थिईन । सो आन्दोलनको परिणामस्वरुप वादी समुदायको उत्थान र अधिकारका लागि नेपाल सरकारसँग २ बुँदे सैद्धान्तिक सहमति भएको थियो ।
विपन्न दलित वादी समुदायको हक अधिकारका लागि निरन्तर योगदान गर्दै आएकी उमादेवी वादीलाई विश्व प्रसिद्ध सञ्चारमाध्यम विविसिले सन् २०१८ को विश्वका १०० जना उत्प्रेरणादायी र प्रभावकारी महिलाकोे सूचिमा १० स्थानमा राखेको थियो ।