७ बैशाख २०८१, शुक्रबार

प्रादेशिक अस्पतालको शवगृह दुर्घन्धित बन्दै



धनगढी । सेती प्रादेशिक अस्पतालको शव गृह दुर्घन्धित बन्दै गएको छ । जिर्ण बन्दै गएको शवगृह व्यवस्थित नगरिदा र नजिकै रहेको फोहोर संकलन केन्द्रका कारण दुर्घन्धित बन्दै गएको छ ।

टिनको छानो भएको शवगृहभित्र वर्षातको समयमा पानी चुहिने गरेको छ । अहिले शव गृहमा दुई शव मात्रै राख्न सकिने व्यवस्था छ । त्यो पनि लामो समय राख्न सकिँदैन । शव राख्ने स्थान पनि गतिलो छैन ।

‘शव गृहमा राखिएका शवमा चार÷पाँच घण्टामै किरा लाग्ने गरेको छ’ एम्बुलेन्स चालक लक्ष्मण सिंहले भने– शव गृहलाई व्यवस्थित गर्नमा कसैको ध्यान गएको छैन ।

उनले फोहोर संकलन केन्द्र नजिक हुँदा पनि आम नागरिकहरूले मुख थुनेर शव बुझ्न जानुपर्ने अवस्था रहेको बताए ।

सेती प्रादेशिक अस्पतालमा रहेको शव गृह जीर्ण बन्दै गइरहेको कारण प्रदेशको एक मात्र रेफरल अस्पतालले विगत लामो समय देखि शव गृहको समस्या खेप्दै आएको जनाइएको छ । सो शव गृह मापदण्ड अनुसार नरहेको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर हेमराज पाण्डेयले स्विकार गरे ।

उनले लामो समय शवलाई राख्नुपर्दा फ्रिजको आवश्यकता पर्ने भए पनि फ्रिज नहुदा समस्या भएको बताए । ‘पर्याप्त मात्रामा शवगृह भित्र ठाउँ छैन’ उनले भने ।

आधुनिक र नयाँ शव गृह बनाउनका लागि अस्पतालले माग गरे पनि जग्गा अभावका कारण समस्या भएको छ । मेडिकल सुपरिटेण्डेण्ट डाक्टर पाण्डेयले भने– जग्गा नहुँदा नयाँ शव गृह बनाउन सकिएको छैन । अब हामीले यहि शव गृहलाई मर्मत गराउने भनेका छौं । यसमा पनि समस्या रहेको छ ।’

उनले भने– शव गृह मर्मत गर्ने हो तर, सो समयमा शवको व्यवस्थापन कहाँ गर्ने भन्ने पनि समस्या रहेको छ ।’

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार