१० श्रावण २०८१, बिहीबार

काँग्रेसको आसन्न महाधिवेशनः नेतृत्वका लागि जिल्लामा सरगर्मी बढ्यो



धनगढी । नेपाली काँग्रेसको १४ औं महाधिवेशन नजिकिँदै गर्दा सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लामा जिल्ला सभापतिदेखि क्षेत्रीय, पालिका तथा वडा समितिको नेतृत्वका लागि सरगर्मी बढेको छ । हरेक जिल्लामा जिल्लाको नेतृत्वका लागि आकांक्षीहरूले आआफ्नो दाबी सहित दौडधुप तीब्र बनाउदै लगेका छन् ।

जिल्ला सभापति पदका लागि आकांक्षीहरूले केन्द्रदेखि वडा तहसम्म आफ्नो पक्षमा माहौल बनाउन सानाठूला छलफल, भेटघाट, लविङको क्रमलाई अगि बढाइरहेका छन् । जिल्ला सभापतिका आकांक्षीहरू मध्ये केही अहिले शिर्ष नेतृत्वको “आशिर्वाद” प्राप्त गर्न राजधानीमा नेताहरूलाई “कन्भिन्स” गर्ने प्रयासमा केन्द्रीत रहेका छन् ।

सुदूरपश्चिम प्रदेशका दार्चुला र बैतडी बाहेक बाँकी सात जिल्लामा पार्टी सभापति शेरबहादुर देउवा समर्थकको बलियो पकड रहेको मानिन्छ । यद्यपि, सभापति देउवाको गृह जिल्ला डडेल्धुरामा गत अधिवेशनमा कर्ण बहादुर मल्ल सभापतिमा निर्वाचित भएका थिए । उनी देउवा निकट हुदाहुदै पनि केही विमति राख्ने नेताका रुपमा चिनिन्छन् ।

यस पटक पनि छ जिल्लामा सभापति पदमा “देउवा भर्सेज देउवा” को अवस्था हुने देखिएको छ । केन्द्रीय सभापति देउवाबाट प्रत्यक्ष रुपमा समर्थन नपाएमा केही जिल्लामा देउवा पक्षकै आकांक्षीहरू पनि अर्को समुहबाट उम्मेदवार बन्न सक्ने सम्भावना पनि रहेको काँग्रेसजनबीच चर्चा हुने गरेको छ ।

पार्टी सभापति देउवाको गृह जिल्लामा यस पटक परशुराम नगरपालिका प्रमुख भीमबहादुर साउद सभापतिका दावेदार रहेका छन्् । चर्चा अनुसार उनलाई पार्टी सभापति देउवाको समर्थनमा साउद जिल्ला सभापतिका उम्मेदवार बनेका हुन् ।

डडेल्धुरामा साउदसहित सात जना सभापतिका दावेदार रहेका छन् । अहिले अधिकाँस आकांक्षी सभापतिको उम्मेदवारको समर्थन प्राप्त गर्न राजधानीमा केन्द्रीय सभापतिदेखि अन्य शिर्ष नेताहरूका धाइरहेको बताइन्छ ।

डडेल्धुराका वर्तमान जिल्ला सभापति मल्ल लगातार दुई पटक सभापति भइसकेका कारण विधानतः तेस्रो पटक उम्मेदवार बन्न पाउदैनन् । उनको पक्षबाट करुणाकर भट्ट, तारकसिंह बुढाऐर, भरत नेपाली सभापतिका आकांक्षी देखिएका छन् । त्यस्तै, नवलबहादुर मल्ल, मोहनराज पाठक र हरिप्रसाद भट्ट पनि सभापतिका आकाँक्षी रहेका छन् । ‘अहिले पार्टी जिल्ला सभापतिका आकाँक्षीहरू प्रायःसबै काठमाडौं केन्द्रित भएका छन्’ पार्टी कार्यकर्ता केशव महताले भने ।

कैलालीमा जिल्ला सभापति नरनारायण शाह पनि लगातार दुई पटक सभापति रहिसकेका छन् । विगतमा कैलालीमा देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेल समुहबीच प्रतिस्पर्धा हुने गरेकोमा यस पटक देउवा पक्षधरहरूबीच नै प्रतिस्पर्धा हुने देखिएको छ ।

कैलाली जिल्ला सभापतिका लागि पार्टी उपसभापति प्रकाशबहादुर बम, महासमिति सदस्य नारायणदत्त भट्ट, नेताहरू भीम बडुवाल, खेमराज चौधरी, कमल बहादुर शाह, गणेश देउवा, रणबहादुर रावल र दिनेशराज जोशीले आआफ्नो दाबी सहित दौडधुप बढाएका छन्् । अहिलेसम्म सभापति देउवा पक्षबीच नै प्रतिस्पर्धा रहने देखिए पनि वडा अधिवेशन सम्पन्न भएपछि अर्को परिस्थिति आउनसक्ने सम्भावना रहेको देखिन्छ ।

‘अहिले जिल्ला सभापति पदका लागि धेरै जना आकाँक्षी देखिनु भएको छ’ पार्टी जिल्ला सभापति शाहले भने– हामी सबैलाई मिलाएर अघि बढ्ने प्रयासमा रहेका छौं ।

कञ्चनपुरमा पनि सभापति देउवा निकटका नेताहरू नै सभापतिका उम्मेदवार रहेका छन् । चर्चा अनुसार वर्तमान जिल्ला सभापति हरि बोहराले दोस्रो कार्यकालका लागि पनि आकांक्षा राखेका छन् । त्यस्तै, पौडेल पक्षबाट गोपाल गुरुङको दाबेदारी रहेको छ । त्यस्तै, नेता पदम बहादुर बोगटी, पूर्व जिल्ला सभापति बहादुरसिंह थापाले पनि आफ्नो दाबी प्रस्तुत गरेका छन् ।

डोटीमा वर्तमान जिल्ला सभापति प्रदिप देउवा दोस्रो कार्यकालका लागि उम्मेदवार बन्ने तयारीमा रहेको बताइन्छ । त्यस्तै, नेताहरू सीताराम जोशी, रामप्रसाद उपाध्यक्ष, दीपक बहादुर बिष्ट, भूमिराज बडू सभापतिको दौडमा रहेका छन् ।

अछाममा वर्तमान सभापति भरतकुमार स्वाँरले पनि दोस्रो कार्यकालका लागि तयारी गरिरहेको बताइन्छ । अछामा देउवा पक्षधर स्वार सहित पूर्वसभापतिद्वय पुष्पबहादुर शाह र मेघराज खड्का तथा नेता गणेशबहादुर बिष्ट सभापतिका आकांक्षी देखिएका छन् ।

त्यस्तै, पौडेल पक्षबाट बलबहादुर कुँवर, ध्वजबहादुर कुँवर र टीकाराम खनालले दाबी गरिरहेका छन् ।

बाजुरा जिल्लामा देउवा पक्षधर दुई जना र पौडेल पक्षधर दुई जना सभापतिका आकाँक्षी देखिएका छन् । बाजुरामा सभापतिका लागि वर्तमान जिल्ला सभापति कविराज पण्डित र प्रेमबहादुर शाहीले दाबी गरिरहेका छन् । भने पौडेल पक्षबाट पूर्वसभापति मनबहादुर रावल र रामसिंह रावल आकांक्षी रहेका छन् ।

बैतडीमा जिल्ला सभापतिका लागि चार जना आकांक्षी देखिएका छन् । बैतडीमा वर्तमान जिल्ला सभापति नरेन्द्रसिंह थापा दोस्रो कार्यकालका लागि उम्मेदवार बन्ने तयारीमा रहेका छन् । सभापति थापा पौडेल पक्षधर हुन् । पौडेल समुहबाटै वर्तमान उपसभापति चतुरबहादुर चन्द पनि आकांक्षी देखिएका छन् । भने देउवा पक्षबाट शिवराज भट्ट र वीरबहादुर बिष्ट आकाक्षी देखिएका छन् ।

पौडेल पक्षको बलियो पकड रहेको दार्चुलामा सभापतिका लागि पाँच जना आकांक्षी देखिएका छन् । जिल्ला सभापतिका लागि बिक्रमसिंह धामी, पूर्वसभापति जगदीश पाल, उपसभापति अमर धामी, सचिव हर्क बिष्ट दावेदार रहेका छन् ।

बझाङमा वर्तमान सभापति हर्कजंग बहादुर सिंहसहित अहिले १० जना सभापतिका आकाक्षी रहेका छन् ।

बझाङमा पूर्वसभापति पृथ्वीबहादुर सिंह, पूर्वसभापति चेतराज बजाल, पूर्वउसभापति देवराज शर्मा र जगत जोशी आकांक्षी रहेको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार