१६ बैशाख २०८१, आईतवार

कैलालीमा निषेधाज्ञा लम्बियो



धनगढी । कैलालीमा जारी निषेधाज्ञा फेरि लम्बिएको छ । मंगलबार बसेको कैलाली जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले आज (बुधबार) देखि लागु हुने गरी साउन १ गतेसम्म निषेधाज्ञा थप गरेको छ ।

निषेधाज्ञाको स्वरूप परिवर्तन गरि साउन १ गतेसम्मलाई निरन्तरता दिएको कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बताए ।

बैठकले सार्वजनिक यातायातमा लागू गरिएको जोरबिजोर प्रणाली पनि हटाएको छ । प्रमुख जिल्ला अधिकारी रिजालका अनुसार जिल्लाभित्र स्वास्थ्य मापदण्ड पालना गर्दै सिट क्षमताअनुसार यात्रु राखेर सार्वजनिक सवारी साधन सञ्चालन गर्न पाइने छ । अन्य जिल्ला जान र अन्य जिल्लाबाट कैलाली आउनका लागि भने जिल्ला प्रशासन कार्यालयको स्वीकृती लिनुपर्ने प्रमुख जिल्ला अधिकारी रिजालले बताए । जोरबिजोर प्रणाली हटेसगै अब आजदेखि सबै सवारी साधन चल्ने भएका हुन् ।

त्यस्तै होटलहरू पनि सञ्चालनमा आउने भएका छन् । बैठकले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी बिहान ५ बजेदेखि बेलुकी ८ बजेसम्म होटल, रेष्टुरेन्ट, फास्टफुड, खाजा तथा चिया पसलहरू सञ्चालन गर्न सकिने निर्णय गरेको हो ।

यसरी सञ्चालन गर्दा सकेसम्म होम डेलिभरी तथा टेक अवे सेवालाई प्राथमिकता दिन प्रशासनले आग्रह गरेको छ । यस अघि यहाँका सम्पुर्ण होटलहरू ठप्प थिए ।

त्यस्तै, बैठकले अब २५ जनासम्म व्यक्तिको सहभागितामा सभा, सम्मेलन, भेला तथा कार्यक्रमहरू गर्न पाउने निर्णय गरेको छ ।
प्रशासनले जारी गरेको विज्ञप्तीमा भनिएको छ– विभिन्न प्रकारका गोष्ठी, तालिम, सेमिनार, बैठक, समिक्षा, प्रशिक्षण जस्ता क्रियाकलापहरू सञ्चालन गर्दा भर्चुअल माध्यमबाट गर्ने, भौतिक रुपमा उपस्थित भइ गर्नैपर्ने भएमा बढीमा २५ जनामात्र सहभागि रहने गरी जनस्वास्थ्यका मापदण्ड पूर्ण परिपालना गर्ने गरी सञ्चालन गर्न सकिने छ ।’

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार