१६ बैशाख २०८१, आईतवार

जानकी संस्थागत क्षमता स्वमुल्यांकनमा उत्कृष्ट



धनगढी । कैलालीको जानकी गाउँपालिका स्थानीय सरकार संस्थागत क्षमता स्वःमूल्यांकनमा उत्कृष्ट भएको छ । कैलालीका १३ वटा स्थानीय तहहरूमध्ये स्थानीय सरकार संस्थागत क्षमता स्वमूल्यांकनमा जानकी गाउँपालिकाले ६९.७५ नम्बर प्राप्त गरेको छ ।

नेपाल सरकार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलद्वारा प्रकाशित नतिजा अनुसार जानकी गाउँपालिकाले ६९.७५ नम्बर प्राप्त गरेको बताइएको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ८० को प्रयोजनको लागि १० ओटा क्षेत्रका विभिन्न एक सय वटा सूचकहरूको आधारमा एक सय नम्बरको मूल्यांकन गरिएको थियो ।

मूल्यांकन गर्दा प्रशासकिय प्रबन्ध, संगठन तथा प्रशासन, वार्षिक वजेट तथा योजना व्यवस्थापन, वित्तिय एवं आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्य सम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वाताबरण संरक्षण तथा विपद् व्यवस्थापन र सहकार्य र समन्वय गरी १० वटा क्षेत्र समेटीएका छन् ।

यी १० वटा क्षेत्रभित्र रहेर एक सय सूचक बनाई मूल्यांकन गरिएको हो । १० वटा सूचकमा जानकी गाउँपालिका सामाजिक समावेशीकरण, शासकीय प्रबन्ध, बार्षिक बजेट तथा योजना व्यवस्थापन, न्यायिक कार्य सम्पादनमा राम्रो देखिन्छ । अन्य सुचकहरूमा मध्यम देखिएको छ ।

जसअनुसार सबैभन्दा बढी सामाजिक समावेशीकरणमा ८५ प्रतिशत, संगठन तथा प्रशासन ७८.१३ प्रतिशत, शासकीय प्रबन्ध ७७.७८ प्रतिशत, ७७.२७ प्रतिशत बार्षिक बजेट तथा योजना व्यवस्थापनमा, न्यायिक कार्यसम्पादनमा ७१.४३ प्रतिशत, सहकार्य र समन्वय ७०.८३ प्रतिशत वितिय एवम आर्थिक व्यवस्थापन ६५.९१ प्रतिशत, सेवा प्रवाह ६२.५ प्रतिशत, वातावरण संरक्षण तथा विपद व्वस्थापन ६१.११ प्रतिशत र भौतिक पूर्वाधारमा ५७.६९ प्रतिशत रहेको देखिन्छ ।

अहिलेसम्म कैलालीका १३ स्थानीय तह मध्ये सात वटा स्थानीय तहको मात्र नतिजा सार्वजनिक भएको छ ।

जसमा सबैभन्दा बढी जानकी गाउँपालिकाले ६९.७५, धनगढी उपमहानगरपालिकाले ६१.२५, वर्दगोरीया गाउँपालिकाले ६१, जोशीपुर गाउँपालिकाले ५२, गौरीगंगा नगरपालिकाले ४९.२५ र लम्कीचुहा नगरपालिकाले २३ नम्बर ल्याएका छन् । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नेपालका ७ सय ५३ स्थानीय तहमध्ये अहिलेसम्म ३ सय ७८ स्थानीय तहको मात्र नतिजा सार्वजनिक गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार