१५ बैशाख २०८१, शनिबार

अदालतले चार जनप्रतिनिधिको पद थमौति गर्यो



धनगढी । सर्वोच्च अदालतले नेकपा माओवादी केन्द्रले कारबाही गरेका कैलालीका चार जना जनप्रतिनिधिको पद थमौती गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश कुमार चुडालको एकल इजलासले शुक्रबार अन्तरिम आदेश दिदै पदबाट हटाइएका चारै जना जनप्रतिनिधिहरूलाई बहाल गरेको छ ।

अदालतले कैलालीको भजनी नगरपालिकाका उपप्रमुख छाँया देवकोटा, गौरीगंगा नगरपालिका वडा नम्बर ४ का अध्यक्ष भागिरथी बिष्ट, गोदावरी नगरपालिका वडा नम्बर १ का अध्यक्ष शर्मानन्द भट्ट र बर्दगोरिया गाउपालिका वडा नम्बर ४ का अध्यक्ष पुरन बिसीलाई काम गर्न दिन आदेश दिएको छ ।

चारै जनाले पदबाट राजीनामा नदिएको, अर्को दलको सदस्यता नलिएको एवं निज आफैंले वा निज समेत संलग्न भई अर्को दल गठन गरेको यकिन अवस्था नदेखिएकाले कारबाहीमा रोक लगाएको सर्वोच्चको आदेशमा उल्लेख छ ।

एमालेमा प्रवेश गरेको भन्दै माओवादीले गरेको सिफारिशमा निर्वाचन आयोगले सूचना प्रकाशित गरी कैलालीका चार जना स्थानीय तहका जनप्रतिनिधिको पद रिक्त रहेको जनाएको थियो । त्यसका विरुद्ध उनीहरू सर्वोच्च पुगेका थिए । उनीहरूको पद अर्को आदेश नभएसम्म थमौती भएको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार