२३ बैशाख २०८१, आईतवार

लक्ष्यभन्दा बढी राजश्व संकलन



धनगढी । कैलाली भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०७७/०७८ मा लक्ष्यभन्दा बढी राजश्व संकलन गरेको छ । चालू आर्थिक वर्षमा आठ अर्ब २१ करोड ७३ लाख ७१ हजार रुपैयाँको राजश्व संकलन गर्ने लक्ष्य निर्धारण गरिएैकोमा भन्सार कार्यालयले असारको दोस्रो साताभित्रै लक्ष्यभन्दा बढी राजश्व संकलन गरेको हो ।

कैलाली भन्सार कार्यालयले चालू आर्थिक वर्षको असार मसान्तको दोस्रो सातासम्म लक्ष्यभन्दा एक सय दुई प्रतिशत राजश्व संकलन गरेको छ । गत आर्थिक वर्ष २०७६/७७ मा लक्ष्यभन्दा २७ प्रतिशत कम राजश्व संकलन भएको थियो ।

कैलाली भन्सार कार्यालयले उपलब्ध गराएको तथ्यांक अनुसार चालू आर्थिक वर्षको असारको दोस्रो सातासम्म आठ अर्व ४३ करोड ६९ लाख ३८ हजार रुपैयाँ राजश्व संकलन भएको छ ।

कार्यालयले सबैभन्दा बढी राजश्व गत फागुन महिनामा संकलन गरेको छ । फागुन महिनामा ६९ करोड ८६ लाख ३१ हजार रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य निर्धारण गरिएकोमा ८३ करोड २५ लाख ९३ हजार रुपैयाँ (एक सय ५१ प्रतिशत) राजश्व संकलन भएको थियो ।

चालू आर्थिक वर्षको बैशाख र जेठ महिनामा भने कम राजश्व संकलन भएको छ । कैलाली भन्सार कार्यालयले बैशाख महिनामा ७९ करोड ९० लाख ९८ हजार रुपैयाँ र जेठ महिनामा ८० करोड ७९ लाख ४३ हजार रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य निर्धारण गरिएको थियो । बैशाखमा ७१ करोड १७ लाख ८० हजार (८९ प्रतिशत) र जेठ महिनामा ५१ करोड ५९ लाख ४४ हजार रुपैयाँ (६३ दशमलव आठ प्रतिशत) राजश्व संकलन गरेको छ । असारमा ६३ करोड २५ लाख ४६ हजार राजश्व संकलन गर्ने लक्ष्य लिएकोमा दोस्रो सातासम्ममा २८ करोड ८८ लाख २४ हजार (४५ दशमलव छ प्रतिशत) राजश्व संकलन भइसकेको छ ।

कैलाली भन्सार कार्यालयका भन्सार अधिकृत फणिन्द्र खतिवडाले जारी निषेधाज्ञाका कारण बैशाख र जेठ महिनामा लक्ष्य अनुसारको राजश्व संकलन हुन नसकेको बताए । उनले भने– बैशाख महिनामा मात्र लक्ष्य अनुसारको राजश्व संकलन भएको भए हामीले असारसम्म लक्ष्यभन्दा एक सय ३० प्रतिशत बढी राजश्व संकलन गर्न सक्थ्यौं ।

बढ्दो कोरोना संक्रमणको जोखिम नियन्त्रण गर्न स्थानीय प्रशासनले बैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरेको थियो । भन्सार अधिकृत खतिवडाले निषेधाज्ञाका कारण राजश्व संकलन प्रभावित भएको बताए ।

गत आर्थिक वर्ष २०७६/७७ मा भन्सार कार्यालयलाई छ अर्ब ७० करोड ३१ लाख ६६ हजार राजश्व संकलन गर्ने लक्ष्य निर्धारण गरिएको थियो । कैलाली भन्सार कार्यालयले चार अर्ब ९२ करोड १० लाख पाँच हजार रुपैयाँ राजश्व संकलन गरेको थियो । जुन कुल लक्ष्यको ७३ दशमलव चार प्रतिशत थियो । कोरोनाको पहिलो लहरमा सरकारले २०७६ साल चैत ११ गतेदेखि देशव्यापी रुपमा लकडाउन जारी गरेको थियो । सो समयमा भारतबाट मालबाहक सवारी साधन, पेट्रोलियम पदार्थमात्र भित्रिएका थिए ।

कैलाली भन्सार कार्यालयबाट पेट्रोलियम पदार्थ, निर्माण सामग्री, यातायातका सवारी साधन, खाद्यान्न, हार्डवेयरका सामग्री लगायतका सामान आयात हुने गरेको छ ।

त्यस्तै, कैलालीको टीकापुरस्थित सत्ती भन्सार कार्यालयले राजश्व संकलनमा वार्षिक लक्ष्य पुरा गरेको छ ।

सत्ती भन्सारले चालु आर्थिक वर्षको ११ महिनामा १४ करोड ५० लाख रुपैयाँ राजश्व संकलन गरेको जनाइएको छ । सत्ती भन्सार कार्यालयलाई भन्सार विभागले आर्थिक वर्षको शुरुमा छ करोड सात लाख रुपैयाँ र पछि बढाएर १४ करोड २३ लाख रुपैयाँ राजश्व उठाउनुपर्ने वार्षिक लक्ष्य तोकेको थियो ।

दुई वर्षअघि मात्र स्थापना भएको सत्ती भन्सारले गत आर्थिक वर्षभरिमा पाँच करोड ८० लाख ७ हजार रुपैयाँ मात्रै राजश्व संकलन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार