२ माघ २०८१, बुधबार

प्रधानमन्त्री ओलीको पुत्ला दहन



धनगढी। कैलालीको धनगढीमा पाँच विद्यार्थी संगठनले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका छन् ।

देशव्यापी विरोध कार्यक्रमअन्र्तगत धनगढीको लक्ष्मीनारायण चौकमा विपक्षी गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले (माधव नेपाल पक्ष), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा समर्थित विद्यार्थी संगठनहरुले बुधबार साँझ प्रधानमन्त्री ओलीको पुत्ला दहन गरेका हुन् ।

संसद विघटन तथा सरकारका ‘असंवैधानिक’ काम कारबाहीको विरोधमा आन्दोलनरत रहेका नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल छैटौंले प्रधानमन्त्री ओली र सरकारविरुद्ध नाराबाजी समेत गरेका छन् ।

संसद विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमविरुद्ध देशभर नै आन्दोलनको कार्यक्रम घोषणा गरिएको नेपाल विद्यार्थी संघका देवेन्द्र जोशीले जानकारी दिए ।

विद्यार्थी संगठनहरुले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्ण गोपाल श्रेष्ठको राजीनामा माग गरेका थिए ।

विरोध कार्यक्रममा अखिल क्रान्तिकारीका डम्बर भट्टराई, अखिलका नेता समिर जोशी लगायतको विद्यार्थी नेताहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार