१० श्रावण २०८१, बिहीबार

निषेधाज्ञा थप खुकुलो



धनगढी । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिएमसी) ले कैलाली जिल्लामा जारी निषेधाज्ञालाई खुकुलो गरेको छ ।

जिल्ला प्रशासन कार्यालय कैलालीमा आज प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालको अध्यक्षतामा बसेको बैठकले १६ गतेदेखि कैलाली जिल्लामा सार्वजनिक यातायात समेत चल्न दिने निर्णय गरेको छ ।

बैठकले यातायातका साधन जिल्ला भन्दा बाहिर जान र बाहिरबाट आउन भने रोक लगाएको छ । यो निर्णय अनुसार जिल्लाभरी सार्वजनिक यातायात जोर बिजोर प्रणालीमा चल्न पाउनेछन् । सवारी साधनले क्षमता भन्दा यात्रु बोक्न पाउनेछैनन ।

चालक, सहचालक र कन्डक्टरले मास्क र पञ्जा अनिवार्यरुपमा लगाउनु पर्नेछ । त्यसका साथै ढोकामा सेनिटाईजरको व्यबस्था पनि अनिवार्य गरेको छ । बजारहरु भने बिहान ६ देखि साँझ ६ बजेसम्म खोल्न पाईनेछ । रेष्टुरेण्ट,जीमखाना, फिल्ममाथि लगाएको रोक यथावत छ । तर रेष्टुरेण्टले टेक अवे सुबिधा भने दिन पाउनेछन् ।

सरकारी कार्यालय, बैक तथा वित्तिय संस्थाहरु जनस्वास्थ्यका सुरक्षा मापदण्डको पालना गरी कार्यालय समयभित्र सञ्चालन गर्न दिने बैठकले निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रिजालले बताए । विद्यालयहरु भने सञ्चालन गर्न दिईने छैनन । यो निर्णय १६ देखि २२ गतेसम्म लागु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार