४ पुष २०८२, शुक्रबार

कोरोनाको तेस्रोे लहर नियन्त्रण तयारी भएको छ– मन्त्री खड्का



धनगढी । सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्री लालबहादुर खड्काले तेस्रो चरणको कोरोना लहरलाई नियन्त्रण गर्न प्रदेश सरकार जुटेको बताएका छन् ।

‘विश्व स्वास्थ्य संगठनका विज्ञहरूले कोरोनाको तेस्रो लहर आउने भनेर आधिकारीक रुपमा पुष्टि त गरेका छैन, तर अनौपचारिक छलफलमा नोभेम्बरमा फेरी तेस्रो लहरको कोरोना संक्रमण आउन सक्ने अनुमान गरिएको छ’ प्रदेश सभाको आठौं अधिवेशनको १८ औं बैठकमा आइतबार मन्त्रालयको बजेटमाथि उठेको जिज्ञासाबारे जवाफ दिँदै मन्त्री खड्काले भने– ‘विश्वनै त्यही अनुसार नियन्त्रणका लागि अघिबढेको छ । सुदूरपश्चिम प्रदेश सरकारले पनि त्यही अनुसार कार्यक्रम तथा योजना तयार गरी अघि बढीरहेको छ ।’

मन्त्री खड्काले तेस्रो लहरबाट धेरै मानविय क्षति नहोस भनी मन्त्रालयले अस्पतालको स्तरोन्नति र सुधारलाई प्राथमिकतामा राखेको बताए ।

‘विशेषगरी प्रदेशका भारतबाटै संक्रमणको जोखिम रहेको छ । प्रदेशको धेरै जनसंख्या रोजगारीका लागि भारत जाने र आउने क्रम हुँदा प्रदेशमा संक्रमण बढेको विगतका दिनले देखाईसकेको छ’ उनले भने– विगतमा नाकामा व्यवस्थापन नहुनु, आइसोलेसन, क्वारेन्टाइन, अस्पतालमा शैय्या, आइसियू, भेन्टिलेटर लगायतको आवश्यकताअनुसार व्यवस्थापन नहुँदा प्रदेशले धेरै क्षति व्यहोर्नु परेको थियो ।

मन्त्री खड्काले कोरोनाको तेस्रो लहरको जोखिम बढ्न नदिन सिमानाकालाई प्रदेश सरकारले व्यवस्थित गरिरहेको बताए ।

‘हामीले आवतजावत गर्ने मानिसलाई पूर्ण परिक्षण गर्ने गरि सिमामा टनेल निर्माण गरिरहेका छौं । नाकामै आइसियूसहितको व्यवस्थित आइसोलेसन निर्माण गर्ने, होल्डिङ सेन्टर निर्माण, नाकामै परिक्षण गर्ने लगायतको तयारीमा जुटेका छौं’ मन्त्री खड्काले भने– त्यहाँ संक्रमण पुष्टि भएकालाई गेटा मेडिकल कलेजमा निर्माण गरिएको आइसोलेसनमा लगिने छ र संक्रमण पुष्टि नभएका व्यक्तिहरूलाई सम्बन्धित पालिकाको वडामै क्वारेन्टाइनमा राख्ने व्यवस्था गरिने छ ।’

मन्त्री खड्काले प्रदेश सरकारले स्वास्थ्य क्षेत्रलाई बढी महत्वका साथ यसपालिको बजेटमा समावेश गरेको बताए । उनले भने ‘मन्त्रालयको बजेटको ठुलो अंश स्वास्थ्य क्षेत्रमा केन्द्रित छ । स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर योजना निर्माण गर्दा विगतदेखि चल्दै आएका योजनाहरूलाई हामीले समावेश गर्न सकेनौं । विगतको योजनाको संख्या र बजेट पनि कम भएको छ ।’

मन्त्री खड्काले प्रदेश सरकारले सेती, महाकाली प्रादेशिक र टीकापुर अस्पतालमा बालबालिकालाई ध्यानमा राखेर झण्डै तीन सय बेड थप्ने काम शुरु गरिसकेको बताए । ‘तीन वटै अस्पतालमा ५० जति भेन्टिलेटर र आइसियू व्यवस्थापन गर्ने भनेर काम अघि बढाइसकेका छौं’ उनले भने– महाकालीमा चार र टीकापुरमा दुई वटा डायलेसिस मेसिन थप गर्ने तयारीमा छौं ।’

उनले महेन्द्रनगरमा एक हजार क्षमताको आइसोलेसन र पहाडी सात वटै जिल्लाका अस्पतालमा १० देखि २० वेडको कोरोना संक्रमितको उपचारलाई ध्यानमा राखेर थप्ने तयारीमा रहेको बताए । उनले भने– कतिपय जिल्लामा आइसियू र भेन्टिलेटरको व्यवस्था भएपनि सञ्चालनमा छैनन । उपलब्ध भएसम्म त्यहाँ चिकित्सकको व्यवस्था गर्ने नभए त्यही रहेको जनशक्तिलाई आधारभुत तालिम उपलब्ध गराएर सञ्चालन गर्ने गरी मन्त्रालय लागेको छ ।’

मन्त्री खड्काले नियमित बजेटभन्दा कोरोना रोकथाम र व्यवस्थापन भनी स्वास्थ्य कार्यालयहरूमा अर्को बजेट राखिएको बताए । उनले भने– प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको समितिले खर्च गर्ने गरी सबै स्वास्थ्य केन्द्र र अस्पतालहरूमा ५० लाखदेखि ढाई करोडसम्मको कोष राखिएको छ ।

उनले विगतमा पैसा अभावका कारण उपकरणहरूको व्यवस्थापन गर्न समस्या भोगेको बताउँदै भने– कर्मचारीहरूले पैसा देख्नेवित्तिकै खर्च गरिहाल्ने र महामारी आउँदा रकम अभावले व्यवस्थापन गर्न नसकिने प्रवृति देखेका छौं । कोरोनाको पहिलो लहरमा हामीलाई पिसिआर मेसिनको व्यवस्थापन गर्न समस्या भयो । दोस्रो लहरमा अक्सिजन सिलिण्डर अभाव भोगेका थियौं । तेस्रो लहरमा यस्ता समस्या आउन नदिन यो कोष राखिएको हो ।’

उनले प्रदेश सरकार आफैले खोप खरिद गर्न नसक्ने विश्व स्वास्थ्य संगठनको मापदण्ड रहेकोले संघिय सरकारसंग छलफल गरिरहेको बताए । उनले भने– हामीले कोरोना खोप खरिद, कोनोना नियन्त्रण तथा जोखिम व्यवस्थापनका लागि भन्दै ९० करोड रकम विनियोजन गरेका थियौं तर, विश्व स्वास्थ्य संगठनको मापदण्डले केही वाँधा पुगेको छ । हामीले संघिय सरकारलाई रकम अभाव भए यहाँबाट लग्न तर, नागरिकलाई खोपको व्यवस्था गर्न दबाब दिइरहेका छौं ।’ उनले संघिय सरकारले असोजभित्रै कुल जनसंख्याको ४० प्रतिशतलाई खोप लगाउने लक्ष्य लिएको बताए । उनले भने– अहिले रकम भन्दा पनि विश्वभरीनै खोप अभाव भएको छ । त्यसैले नागरिकमा खोप पुर्याउन सकिएको छैन ।’

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनिता चौधरीले कृषि क्षेत्रमा आम नागरिकलाई रोजगार बनाउने गरी प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट निर्माण गरेको बताइन । उनले भनिन– मन्त्रालयले विगतदेखिनै कृषकलाई आत्मनिर्भर बनाउने गरी विशेष कार्यक्रमहरू निर्माण गरिरहेको छ । हामीले विगतमा किसानले भोग्दै आएका केही समस्या समाधान हुने गरी काम गरिसकेका छौं । आगामी दिनमा पनि किसानकै पक्षमा मन्त्रालयले काम गर्छ ।’

उनले आगामी आर्थिक वर्षको मन्त्रालयको कार्यक्रमलाई प्रभावकारी रुपमा अघि बढाउन सम्पूर्ण वुद्धिजिवी वर्ग, प्रदेश सभा सदस्यहरूले साथ र सहयोग गर्नुपर्ने बताइन ।

यो सरकार धेरै टिक्दैन– सांसद खड्का

सुदूरपश्चिम प्रदेश सभा सदस्य भरत बहादुर खड्काले सुदूरपश्चिम प्रदेश सरकारको आयु धेरै नभएको दाबी गरेका छन् ।

आइतबार प्रदेश सभामा आर्थिक बर्ष २०७८/०७९ को राजश्व र व्यायको वार्षिक अनुमान बजेटसँग सम्बन्धित सुदूरपश्चिम प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको बिधेयक र आर्थिक बर्ष २०७८/०७९ को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट केहि रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्ने बनेको विधेयक माथिको छलफलमा सांसद खड्काले सरकारको आयु थोरै रहेको बताए ।

‘सरकारले धेरै कुरामा सच्चिँदै जानुपर्ने छ’ उनले भने– यो तालले यो सरकार धेरै दिन चल्दैन ।

उनले आफूहरूको मौनतालाई कमजोरी नठान्न चेतावनी दिए । ‘हाम्रो राजनैतिक सहिष्णुतालाई कमजोरीका रुपमा नलिन अनुरोध गर्दछु’ उनले भने– सरकारको भूमिका कमजोर छ ।’

छलफलमा पूर्व मन्त्री कृष्णराज सुवेदीले साउनबाटै लागु हुने गरी कार्यान्वयनका लागि सम्बन्धित निकाय, कार्यालयमा पठाएमा जनताका पक्षमा काम गरेको देखिने बताए ।

प्रदेश सभा सदस्य विरमान चौधरीले रातो कितावका कतिपय योजना कार्यान्वयन नहुनु र कतिपय योजनाको वडा उल्लेख नहुनु, त्रुटी हुनु लगायतका प्रवृतिलाई सच्याउन सुझाव दिए ।

प्रदेश सभाको अर्को बैठक आज (सोमबार) विहान ८ बजे आह्वान गरिएको सभामुख अर्जुनबहादुर थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार