१० श्रावण २०८१, बिहीबार

प्रदेश सरकारको बजेटमाथि सदनमा विरोध जारी



धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०७८/७९ को वार्षिक बजेटमाथि सत्तापक्ष र प्रतिपक्षी दलका प्रदेश सभा सदस्यहरूको विरोध जारी रहेको छ ।

प्रदेश सभाको आठौं अधिवेशनको शुक्रबारको १७ औं बैठकमा बजेटमाथिको छलफलमा भाग लिएका सत्तापक्ष र प्रतिपक्षी दलका प्रदेश सभा सदस्यहरूले बजेट वितरणमुखी, योजनाहरू कनिका छरेको जस्तो, उत्पादनमुखी हुन नसकेको, प्रदेश गौरवका योजनालाई थप प्रभावकारी बनाउन नसकेको लगायतका आरोप सहित विरोध जारी राखे ।

बजेटमाथिको छलफलमा भाग लिँदै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता रणबहादुर रावलले सरकारले ल्याएको बजेट वितरणमुखी र कनिका छन्र््े खालको रहेको बताए । उनले भने– यो बजेटका धेरै कार्यक्रम विगतका निरन्तरताका रुपमा रहेका छन्् । यो वितरणमुखी बजेट हो र कनिका छरे जस्तै योजनाहरू समावेश गरिएका छन् ।

उनले प्रदेश सरकारले तीन वर्षअघि अल्पकालिन बजेटमा प्रदेश गौरवका योजना भनेर ल्याएका कार्यक्रमहरू समेत अहिलेसम्म कार्यान्वयन हुन नसकेको बताए । उनले भने– पहाडका चार जिल्ला जोड्ने गरी खप्तडमा सडक बनाउने, प्रदेश राजधानीको पूर्वाधार निर्माण, धनगढीस्थित फाप्ला क्रिकेट मैदान, प्रदेशका ८८ वटै स्थानीय तहमा सुपथ मूल्य पसल, प्रदेश बस सेवा लगायतका अधिकांस कार्यक्रम अहिलेसम्म कार्यान्वयन भएका छैनन् ।

प्रमुख प्रतिपक्षी नेता रावलले प्रदेश सरकारले गठन गरेको प्रदेश योजना आयोगले यस वर्षको बजेटमा दीर्घकालिन योजनाहरू समेट्नुपर्ने बताए । भने– सरकारले प्रदेश योजना आयोग गठन गरेको छ । त्यसको सुझावका आधारमा अहिले कार्यक्रम ल्याउनुपथ्र्यो, तर त्यो देखिएन । कसैलाई खाली तलब खुवाउनमात्र किन आयोग बनाउने ?

बजेटमाथिको छलफलमा भाग लिँदै सत्तापक्ष नेकपा एमालेका प्रदेश सभा सदस्य तारा लामा तामाङले कार्यक्रम पुस्तिकालाई सदनमा छलफल भइसकेपछि अन्तिम रुप दिनुपर्ने माग गरे । उनले भने– अहिले सरकारले ल्याएको कार्यक्रम पुस्तिकामा धेरै त्रुटी छन् । सरकारले यसलाई संशोधन नगरी हामीले सदनबाट पारित गर्ने हो र यसको इकार उकार पनि परिवर्तन हुदैन भने आजै विशेष प्रस्ताव पारित गरौं । अर्को सालदेखि बजेट पेस भएकै दिन पारित गर्ने व्यवस्था गरौं ।

उनले जनतालाई फलाना संसदले हाम्रो आवाज उठाएको थियो भन्ने सन्देश दिनलाई मात्र छलफल चलाइएको आफुलाई आभास भएको बताए ।

प्रदेश सभा सदस्य तामाङले बाजुरा, बझाङ, दार्चुला, अछाम लगायतका जिल्लाका लागि सरकारले विनियोजन गरेको बजेटबाट आफुलाई खुशी लागेको बताए । उनले भने– सदनमा विपक्षी दलले गोलमोटल गरेर आवाज उठाउने, र सत्तापक्षले पनि गोलमोटल गरि नै बोल्नुपर्ने बाध्यता बनेको छ ।

नेपाली काँग्रेसका प्रदेश सभा सदस्य डिल्लीराज पन्तले प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटले प्रदेश सभाकै गरिमा घटेको बताए । उनले भने– सरकारले ल्याएको नीति तथा कार्यक्रमले सदनको गरिमा कायम गरेको थियो । त्यसैका आधारमा बजेट आउला भन्ने सोचेका थियौं, तर यसले (बजेट) सदनको नै गरिमा घटाएको छ । म यसलाई कुनै पनि हालतमा पारित गराउने पक्षमा छैन ।

प्रदेश सांसद पन्तले प्रदेश सरकारले चालु आर्थिक वर्षमा खुद्रे र आगामी आर्थिक वर्षको बजेटमा कनिका छरे जसरी योजनाहरू समावेश गरेको दाबी गरे ।

शुक्रबारको बजेटमाथिको छलफलमा सत्तापक्षका हर्कबहादुर कुँवर, कुन्ति जोशी, माया भट्ट, देवकी मल्ल, प्रकाश रावल तथा प्रतिपक्षी दल नेपाली काँग्रेसका कुमारी नन्दा बम र श्यामलाल राना लगायतले भाग लिएका थिए ।

प्रदेश सभाको अर्को बैठक भोली असार १३ गते आइतबार दिउँसो २ बजे बस्ने गरि बैठक स्थगित भएको सभामुख अर्जुनबहादुर थापाले जानकारी दिए ।

आर्थिक कार्यविधी सम्बन्धी अध्यादेश पेश

सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश सभामा अध्यादेश पेस गरेको छ ।

प्रतिपक्षी दलले असंवैधानिक तरिकाबाट आगामी आर्थिक वर्षको बजेट ल्याएको भन्दै बैठक अवरोध गरेपछि शुक्रबार प्रदेशका आर्थिक मामिला मन्त्री प्रकाशबहादुर शाहले अध्यादेश पेश गरे ।

सुदूरपश्चिम प्रदेशको आर्थिक कार्यविधि ऐन २०७४ मा बजेट आउनु भन्दा १५ दिन पहिले नीति तथा कार्यक्रम ल्याउनु पर्ने प्रावधान थियो । सो ऐनमा त्यो भन्दा अघि पूर्व बजेट छलफल गर्नु पर्ने उल्लेख छ । तर, प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि अध्यादेशमा सो समय सिमा हटाएको हो ।

सदनमा विशेष समय नदिएकोमा आपत्ति

सुदूरपश्चिम प्रदेश सभा सदस्य लिलाधर भट्टले सदनमा आफुसहित छ जना प्रदेश सभा सदस्यलाई विशेष समय उपलब्ध नगराइएको भन्दै आरोप लगाए ।

शुक्रबार बसेको प्रदेश सभा बैठकमा सभामुख अर्जुनबहादुर थापाले भट्टलाई विशेष समय उपलब्ध गराएका थिए । सो समयमा प्रदेश सभा सदस्य भट्टले भने– म नेकपा एमालेबाट निर्वाचित प्रदेश सभा सदस्य हुँ । प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेटमा मसहित अन्य साथीहरूले विशेष समय माग गर्दा उपलब्ध गराइएन । आज (शुक्रबार) मलाई पनि मौका दिनु भयो धन्यवाद छ सभामुखज्यू ।’

विशेष समयमा माधव नेपाल–झलनाथ खनाल पक्षका प्रदेश सभा सदस्यहरूको व्यवहारप्रति रुष्टता व्यक्त गर्दै प्रदेश सांसद भट्टले भने– सायद सरकारका गलत कार्यबारे बढी आवाजहरू गुन्जिन्छ भनेर नै हामीलाई विशेष समयमा बोल्न दिइएन ।

बजेटमाथिको छलफलमा भाग लिदै प्रदेश सभा सदस्य हर्कबहादुर कुँवरले प्रदेश सभा सदस्य भट्टको भनाइप्रति कटाक्ष गरे । उनले भने– संसदीय दलको निर्णय नमान्ने मान्छेले पार्टीको निर्णयको कुरा सदनमा गर्न उचित हुँदैन ।

प्रदेश सांसद कुँवरले विषयवस्तुभन्दा बाहिर गएर कुरा राख्न लागेपछि सभामुख थापाले ‘विषयबस्तुमा केन्द्रीत हुन आग्रह’ गरे ।

प्रदेश सभा सदस्य भट्टले प्रमुख प्रतिपक्षी दल कमजोर भएको आरोप लगाए । उनले भने–प्रदेश सभा सदस्यहरूको क्षेत्रमा योजना पुगे मौन बस्ने, नआए विरोध गर्ने प्रवृत्ति देखियो ।

छलफलमा भाग लिएका कांग्रेस संसदीय दलका नेता रणबहादुर रावलले भने– अघि एक जना मित्रले सर्प र विच्छीको उदाहरण दिनुभयो । अहिले सर्प र विच्छीका कुरा होइन । एकताको कुरा हो । सम्मानीय राष्ट्रपति ज्यूका कारण राष्ट्रनै अप्ठ्यारोमा परेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार