१० श्रावण २०८१, बिहीबार

हाम्रो ध्यान “गेमचेन्जर” योजनामा केन्द्रित छ– आर्थिक मामिला मन्त्री शाह



धनगढी । सुदूरपश्चिम प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाहले प्रदेश सरकारको ध्यान “गेमचेन्जर” योजनाहरूमा केन्द्रित भएको बताएका छन् ।

आर्थिक पत्रकार समाजले बुधबार आयोजना गरेको सुदूरपश्चिम प्रदेशका पत्रकारहरूका लागि आयोजित आर्थिक पत्रकारिता अनलाइन तालिममा मन्त्री शाहले प्रदेश सरकारले ठूला आयोजनाहरू बनाउन नीति र कानुनहरू तर्जुमा गरिरहेको जानकारी दिए ।

उनले आगामी आर्थिक वर्षका लागि बहुवर्षीय योजनाहरूलाई प्राथमिकता दिएर पुर्वाधार विकासका बजेट विनियोजन गरिएको बताए ।

उनले सरकारले कोरोना नियन्त्रणलाई पहिलो प्राथमिकतामा राखेको र दोस्रो प्राथमिकतामा कृषि क्षेत्रलाई राखेर बजेट विनियोजन गरेको बताए । “नो एक्सपेन्डिचर विदआउट रिप्रिजेन्टेशनको नीति लिएका छौं’ उनले भने– अब आयोजनाले के परिणाम दियो भन्ने कुराको पनि अध्ययन हुने गरी तेस्रो पक्षबाट पुष्टि हुने गरी अनुगमन हुन्छ । हामीले मुख्यमन्त्रीको संयोजकत्वमा रहेको अनुगमन समिति र आर्थिक मामिला मन्त्रीको संयोजकत्वमा रहेको बजेट कार्यान्वयन समितिलाई साउन १ गतेदेखि क्रियाशील बनाउने छौं ।

मन्त्री शाहले वित्तीय सुशासन कायम गर्नमा समेत प्रदेश सरकारले ध्यान दिएको बताए । उनले आगामी आर्थिक वर्षको बजेटमा कृषि, पर्यटन, उद्योगलाई समेत प्राथमिकता दिएको बताए ।

तालिममा अर्थतन्त्र र वित्तीय संघीयता, बैंक/वित्त, शेयर र बीमा, पुर्वाधार, लगानी ढाँचा र सार्वजनिक खरिद, उद्योग, वाणिज्य, निजी लगानी र उपभोक्ता संरक्षण तथा आर्थिक पत्रकारिता र आचार संहिताको विषयमा प्रशिक्षण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार