६ चैत्र २०८०, मंगलवार

सुदूरपश्चिम प्रदेश सभा: बजेटमाथिको छलफल शुरु



धनगढी । सुदूरपश्चिम प्रदेश सभामा सरकारको आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमाथिको छलफल सोमबारदेखि शुरु भएको छ ।

प्रदेशका आन्तरिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाहले बजेटमाथिको छलफलका लागि प्रदेश सभामा प्रस्ताव पेस गरेपछि प्रदेश सभा सदस्यहरूले बजेटमाथि धारणा राख्ने क्रम शुरु भएको छ ।

सुदूरपश्चिम प्रदेश सभाको आठौं अधिवेशनको १४ औं बैठकमा सत्तापक्षका प्रदेश सभा सदस्यद्वय अम्मरबहादुर साउँद र प्रेमप्रकाश भट्ट तथा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका प्रदेश सभा सदस्य कर्णबहादुर मल्ल र टेकबहादुर रैकाले धारणा राखेका छन् ।

सोमबारको बैठकमा प्रदेश सभा सदस्यहरूले बजेट कम रहेको, तर कार्यक्रम धेरै राखिएको औल्याए । प्रदेश सभा सदस्य अम्मरबहादुर साउदले सरकारको बजेटले सबै क्षेत्र समेट्न खोजे पनि आम नागरिकले महसुस गर्न सक्ने ढंगले कार्यक्रम आउन नसकेको टिप्पणी गरे ।

प्रदेश सभा सदस्य साउदले भने– सम्भाव्य विपदबाट हुने जनधनको क्षति न्यूनिकरणका लागि प्रदेश सरकार हरदम तयार हुनुपर्छ । अहिले बाढी, पहिरो लगायतका विपदका घटनामा बृद्धि आएको छ । सुदूरपश्चिम प्रदेशमा पनि केही विपदका केही घटना भइसकेका छन । सरकारले यसका लागि गम्भीर हुनु पर्दछ र तत्काल राहत तथा उद्दार कार्य प्रभावकारी बनाउनेतर्फ तयार हुनु पर्दछ ।

प्रदेश सभा सदस्य प्रेमप्रकाश भट्टले प्रदेश गौरवका योजनामा प्रदेश सरकारले न्यून बजेट राख्नु उचित नभएको बताए । उनले भने– प्रदेश गौरवका आयोजनाहरूमा न्यून बजेट हुँदा काम गुणस्तरीय काम नहुने देखिन्छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका प्रदेश सभा सदस्य टेकबहादुर रैकाले बजेटले प्रदेश सभा सदस्यहरूलाई नै विभेद गरेको दोहोर्याए । उनले भने– प्रदेश पूर्वाधार विकास कार्यक्रम भनेर सरकारले बजेट विनियोजन गरेको छ । तर, यसमा प्रत्यक्ष निर्वाचित प्रदेश सभा सदस्यहरूलाई मात्र समेटिएको छ । यो समानुपातिक प्रणालीबाट निर्वाचित भएका प्रदेश सभा सदस्यमाथि सरकारले गरेको विभेद हो ।

उनले प्रदेश सरकारसंग आफुले कुनै विकास योजना माग नगर्ने र आफ्नो निर्वाचन क्षेत्रमा जनताको आवश्यकता बिना पठाइएका विकास योजना फिर्ता गराउन पनि तयार रहेको बताए ।

काँग्रेसका प्रदेश सभाका सदस्य कर्णबहादुर मल्लले प्रदेश सरकारले प्रस्तुत गरेको नयाँ बजेटलाई “विचौलियाको माध्यमबाट विचौलियाकै हितमा आएको बजेट” को संज्ञा दिए । उनले भने– यो बजेट नभई, सरकारको एक विज्ञप्तीमा मात्रै हो ।

प्रदेश सभा सदस्य मल्लले सरकारले प्रदेश सभा सदस्यहरूले दिएका सुझावहरूलाई कुनै ध्यान नदिएर बजेट ल्याएको आरोप लगाए ।

उनले भने– विगतमा भ्रष्टाचार गर्नेहरू सरकारबाट बाहिरिएका छन् । कसैको सांसद पद नै गयो । यो बजेट बनाउनेहरूले पनि अख्तियारमा मात्रै होइन जनताको अदालतबाट कारबाही भोग्नु पर्नेछ ।

उनले प्रतिपक्षको मौनतालाई कमजोरी नठान्न चेतावनी दिए । भने– यो बजेट त सत्तारुढ दलको राजनीतिक विचार अनुसार पनि आएको छैन । उनले सरकारले प्रस्तुत गरेको आगामी वर्षको बजेटले भ्रष्टाचार गर्न सिकाउने र भ्रष्टचारीलाई संरक्षण गर्ने खालको भएको आरोप लगाए ।

प्रदेश सभाको अर्को बैठक आज (मंगलबार) दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको सभामुख अर्जुनबहादुर थापाले जानकारी गराए ।

हत्यारा पत्ता लगाउन माग

सुदूरपश्चिम प्रदेश सभाको सोमबारको बैठकमा प्रदेश सभा सदस्यहरूले डडेल्धुराको जोगवुढामा भएको स्वास्थ्यकर्मी अस्मिता धामी हत्याको घटनाको छानबिन गरी हत्यारालाई कानूनी कारबाहीको दायरामा ल्याउन माग गरे ।

प्रदेश सभा सदस्य कुन्ती जोशीले अस्मिताको हत्यामा संलग्न हत्यारालाई पत्ता लगाएर कानूनी कारबाही गर्न माग गरिन । उनले अस्मिताका परिवारलाई क्षतिपूर्ति दिन तथा उनका दुई नाबालक सन्तानको लालनपालनमा समेत ध्यान दिन प्रदेश र संघीय सरकारसंग आग्रह गरिन् ।

प्रदेश सभा सदस्य भरतबहादुर खड्का, पठानसिंह बोहरा र गोविन्द बोहराले पनि अस्मिता हत्या घटनाको छानबिन गरी दोषीलाई कारबाहीको माग गरे ।

प्रदेश सभा सदस्यहरूले बाजुरा, डोटी र बझाङमा बाढी र पहिरोमा पा“च जनाले ज्यान गुमाएकोमा दु:ख व्यक्त गर्दै थप जनधनको क्षति हुन नदिन आवश्यक काम गर्न सरकारसंग माग गरे ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार