१५ चैत्र २०८०, बिहीबार

टीकापुर अस्पताललाई स्वास्थ्य सुरक्षा सामग्री सहयोग



टीकापुर । कैलालीको टीकापुर अस्पताललाई कोभिड–१९ को सुरक्षा सामग्री वितरण गरिएको छ । सेवक नेपाल, धनगढीले टीकापुर अस्पताललाई कोरोना महामारीबाट सुरक्षाका लागि आर्टेरिएल ब्लड ग्यास अनालाइजर मेसिन, पाँच सय जोर सर्जिकल ग्लब्स, १० हजार जोर एक्जामिनेशन ग्लब्स, छ सेट मेडिकल पर्दा, आठ सय थान केएन ९५ मास्क र पाँच सय बोटल भेरिक्स पावर साइरेक्स सहयोग प्रदान गरेको जनाइएको छ ।

सेवक नेपालका परियोजना व्यवस्थापक भीमबहादुर साउँदले गत साता ती सामग्री टीकापुर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दिपकवहादुर रावल र अस्पताल प्रमुख डाक्टर रेमकुमार राईलाई हस्तान्तरण गरे ।

डाक्टर राईका अनुसार अर्टेरिएल ब्लड ग्यास अनालाईजर मेसिनबाट गम्भीर खालका निमोनियाको रगत जाँच गर्न सहज हुने छ ।
यसअघि सेवक नेपालले टीकापुर नगरपालिकालाई पीपीई एक सय थान, केएन ९५ मास्क आठ सय थान र पल्स अक्सिमिटर ५० सेट प्रदान गरिसकेको छ ।

कोइकाको आर्थिक सहयोगमा आरसीआई र सेवक नेपालबीचको साझेदारीमा सञ्चालित समुदाय स्वास्थ्य र शिक्षामा सुदृढीकरणका लागि पहल परियोजना अन्तर्गत टीकापुरमा दुई वर्षदेखि स्वास्थ्य सम्बन्धी विभिन्न कार्यक्रम हुँदै आएका छन् ।

संस्थाका परियोजना व्यवस्थापक साउँदले परियोजना अन्तर्गत टीकापुर अस्पतालमा मातृ स्वास्थ्य कार्यक्रम कार्यन्वयनमा सहयोग, मेडिकल कर्मचारीहरुको क्षमता अभिबृद्धि, मेडिकल उपकरणमा सहयोग, अस्पातालको सेवामा सुधार तथा स्थानीय बासिन्दाका लागि सचेतनामुलक गतिविधि सञ्चालन गर्ने उद्देश्य रहेको बताए ।

परियोजना अन्तर्गत संस्थाले हालसम्म टीकापुरमा मेडिकल उपकरण सहयोग तथा स्वास्थ्यकर्मीहरुको क्षमता विकास तालिममा सहयोग गरिएको उनले बताए । त्यस्तै, कोरोना रोकथाममा सहयोग पुर्‍याउन टीकापुर अस्पताल र नगरपालिकालाई विभिन्न समयमा पीपीई मास्क, ग्लब्स, सेनिटाइजर, केएन ९५ मास्क, डिस्पोजेवल सर्जिकल गाउन, लगायतका सामग्री सहयोग गरिएको छ ।

परियोजना अन्तर्गत अस्पतालका कर्मचारी व्यवस्थापनमा सहयोगका साथै अस्पताललाई डीआर एक्सरे मेसिन, फ्लटिङ टेबुल, एनेस्थसिया मेसिन। अल्ट्रासाउण्ड मेसिन, अटो क्लाभ मेसिन तथा सीआर्म मेसिन आदि सहयोग गरिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार