१० श्रावण २०८१, बिहीबार

टीकापुर काँग्रेसमा सदस्यता विवाद प्रकरण: भ्रम फैलाउने प्रयास गरेको आरोप



टीकापुर । कैलालीको टीकापुर नगरपालिका वडा नम्बर ८ का नेपाली काँग्रेसका केही क्रियाशील सदस्यहरुले आफूहरुको सदस्यताबारे भ्रम फैलाउने प्रयास भएको आरोप लगाएका छन् ।

संगीता कुमारी साउँद, ठकुल्ला, राजिव बादी, सुरजसिंह टमट्टा, दीपक साउँद, भागे चौधरी लगायतका ११ जनाले शनिबार संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै आफूहरु काँग्रेसमै रहेको जनाएका छन् ।

शुक्रबार उनीहरु ११ जनासहित १३ जनालाई काँग्रेसको वडा नम्बर ८ कार्यसमितिले उनीहरुको जानकारी बिना काँग्रेसको क्रियाशील सदस्यका लागि सिफारिस गरेको भन्दै माओवादीले विज्ञप्ती जारी गरेको थियो ।

तर, शनिबार उनीहरुले जारी गरेको विज्ञप्तीमा आफ्नो इच्छा अनुसार नै क्रियाशील सदस्यता लिएको जनाएका छन् । विज्ञप्तीमा भनिएको छ– वडाध्यक्ष दीर्घ बहादुर ठकुल्लाले हस्ताक्षर अभियान चलाएर विज्ञप्ती जारी गर्ने र भ्रम सिर्जना गरि हाम्रो मानमर्दन भएको महसुस गरेका छौं ।
विज्ञप्तीमा अघिल्लो दिन माओवादीले निकालेको विज्ञप्तीमा नेपाली काँग्रेसको क्रियाशील सदस्यताका लागि फाराम नभरेका व्यक्तिको पनि नाम उल्लेख गरिएको शनिबार जारी संयुक्त विज्ञप्तीमा उल्लेख छ ।

नेपाली काँग्रेस टीकापुर नगर समितिका सहसभापति शेरबहादुर साउँदले वडा अध्यक्ष ठकुल्लाले पदको दुरुपयोग गरेर तथा धम्की र प्रलोभन दिएर निकालिएको अघिल्लो दिन (असार ४ गते) को विज्ञप्तीमा सत्यता नरहेको बताए ।

उनले भने– सोझा जनतालाई निकाल्न बाध्य पारिए पनि अहिलेको अवस्थामा कोही पनि माओवादीमा बस्न चाहेका छैनन् । माओवादीले आफ्नो संगठनको हित चिताउनु स्वाभाविक भए पनि एकथरी काँग्रेसीहरुले नै यसलाई सामाजिक सञ्जालमा राखेर रमाउनु अस्वाभाविक हो ।

नेपाली काँग्रेस टीकापुर नगरपालिका वडा नम्वर १ मा विधान विपरीत भरिएका क्रियाशिल सदस्यहरुको फाराम प्रबृष्ट नभएपछि एकथरी काँग्रेसीहरु विज्ञप्तीवाजी तथा सामाजिक सञ्जालमा उत्रिएको उनले दाबी गरे ।

टीकापुर काँग्रेसमा क्रियाशिल विवादको चुरो ?

नेपाली काँग्रेसको नयाँ क्रियाशील सदस्यता वितरणका शिलशिलामा कैलाली क्षेत्र नम्बर १ मा शुरुदेखि नै केही विवाद हुँदै आएको छ । काँग्रेसको विधान अनुसार नयाँ क्रियाशिल सदस्यता वितरणको अधिकार क्षेत्रीय कार्यसमितिमा रहेको छ । क्रियाशील सदस्यतासम्बन्धमा कुनै विवाद भएमा जिल्ला तथा केन्द्रीय छानबिन समितिले प्रक्रिया पूरा भएको वा नभएको छानबिन गरेर निर्णय लिने विधानको व्यवस्था रहेको छ ।

काँग्रेसको कैलाली क्षेत्र नम्बर १ मा रहेका २३ वडा समितिहरुमध्ये २२ वटा वडासमितिमा क्रियाशील सदस्यताबारे कुनै विवाद नरहेको र टीकापुर नगरपालिका वडा नम्बर १ मा मात्रै विवाद रहेको बताइएको छ । काँग्रेसको विधानअनुसार वडा समितिले वडाका क्रियाशिल सदस्यहरुलाई आमन्त्रण गरेर नयाँ क्रियाशील सदस्यको नामावली संकलन गर्ने र पारित गरेर अनुमोदनका लागि नगर कार्यसमितिमा पठाउने विधानको व्यबस्था छ ।

नगर समितिले नयाँ क्रियाशील सदस्यता लिनेहरुको नामावली वडा समितिलाई पठाउने र वडा समितिले सदस्यताका लागि आवेदन दिएका व्यक्तिहरुसंग शुल्क आदि लिएर लिएर आवेदन भराउनुपर्ने व्यवस्था छ ।

तर, टीकापुर वडा नम्बर १ मा पार्टीका पूर्व सांसद, महाधिवेशन प्रतिनिधि, क्षेत्रीय सभापति, पूर्व नगर सभापति र पदाधिकारी तथा स्थानीय तहका उम्मेदवारहरुलाई समेत जानकारी नगएर वडा समितिका सिमित पदाधिकारीहरुले मात्रै क्रियाशिल फारामको टुंगो लगाएर सिफारिस गरेको काँग्रेसको क्षेत्रीय समितिले जनाएको छ ।

त्यसैगरी टीकापुर नगर समिति र प्रदेश समितिले गणपुरक संख्या बिना नै नयाँ क्रियाशील सदस्यहरुको आवेदन फारम क्षेत्रीय समितिलाई पठाएको बताइन्छ । टीकापुर नगर समितिका पूर्व सभापति भरतबहादुर स्वाँरले वडा नम्बर १ का काँग्रेस नेताहरुले विधान अनुसार नयाँ क्रियाशील सदस्यका लागि फाराम दिन पटकपटक अनुरोध गर्दा पनि वडा सभापति रामचन्द्र शर्मा कट्टेलले “ठूलो पार्टी हो, यस्तो विवाद आइरहन्छ” भनेर टारेको बताए ।

उनले भने– हामीले वडा सभापतिलाई क्रियाशील सदस्यता सम्बन्धी फाराम वितरण पारदर्शी गर्न पटकपटक आग्रह गर्‍यौ, तर कुनै सुनुवाई भएन । अहिले क्षेत्रीय समितिलाई दोष दिएर उम्किने प्रयासमा लाग्नु भएको छ ।

पूर्व नगर सभापति स्वाँरले युवाहरुलाई पार्टीमा आवद्ध गराउने अभियान रहेको बताए । उनले थपे– काँग्रेसमा युवाहरुको आकर्षण बढेको छ । हामीले युवाहरुलाई क्रियाशील सदस्य बनाउन धेरै जनाको नाम पठायौं, तर एकलौटी ढंगले ६८० जनाको नाम छुटाइयो ।

सदस्यता वितरण पारदर्शी बनाउने मागसहित यसअघि नै पार्टीका पूर्व केन्द्रीय सदस्य, पूर्वमन्त्री, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, जिल्ला सहसचिव, जिल्ला सदस्यहरु तथा केन्द्रिय विभागका सदस्यहरुले केन्द्रीय कार्यालयमा उजुरी समेत दर्ता गराएको बताइन्छ ।

काँग्रेस कैलालीको क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति भूवनेश्वर अधिकारीले ‘‘सधै मनपरी गर्दै आएकाहरुले यस पटक आफ्नो योजना सफल हुने नदेखेपछि आफूविरुद्ध सक्रिय भएर लागेको’’ दाबी गरे । क्षेत्रीय सभापति अधिकारीले भने– प्रक्रिया पुगेका र विवाद नभएका क्रियाशील सदस्यहरुको फाराम रोक्ने अधिकार विधानले क्षेत्रीय सभापतिलाई दिएको छैन ।

उनले ‘‘पार्टीको मेरुदण्ड भनेकै क्रियाशिल सदस्य हुने भएकाले क्रियाशिल सदस्यता वितरण गर्दा सबैको भावना समेट्नु पर्ने विधानको मर्म रहेको” बताए । उनले भने– विधानको व्यवस्था र भावनाको कदर गर्नु हामी सबैको दायित्व हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार