ओत लाग्न ओडारमा गएका दुई बालबालिकाको पहिरोमा परेर मृत्यु
धनगढी / पानी परेपछि ओत लाग्न गएका दुई बालकालिकाको पहिरोमा परेर ज्यान गएको छ ।
डोटीको दिपायल नगरपालिका–५ चिसापानीमा बिहीबार पहिरोमा पुरिएर दुई बालबालिकाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लका अनुसार पहिरोमा पुरिएर ७ वर्षीय विनोद भण्डारी र ११ वर्षीया जेनिषा विष्टको मृत्यु भएको छ ।
पानी परेपछि ओत लाग्न ओडारमा बसेको बेला पहिरो खस्दा ती दुई वच्चाहरु पुरिएको प्रहरी उपरीक्षक मल्लले बताए । उनीहरु बाख्रा चराउन गएको बेला सो घट्ना भएको प्रहरीले जनाएको छ ।
स्थानीयको सूचनाका आधारमा घट्नास्थल पुगेको प्रहरीले पहिरो हटाउदा उनीहरु मृत फेला परेको थिए ।
यसअघि बुधबार पनि केआईसिंह गाउँपालिकाका ६० वर्र्षीय खड्कबहादुर वमको पहिरोमा परेर ज्यान गएको थियो ।
बाजुरामा पनि सोमबार खोलामा बगेर एक बालक र एक महिला गरेर दुई जना बेपत्ता भएका छन् ।