१५ चैत्र २०८०, बिहीबार

बजेट विकास र उत्पादनमुखी : आर्थिक मामिला मन्त्री शाह



धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाहले आगामी आर्थिक वर्ष २०७८/०७९ को वार्षिक बजेट विकास र उत्पादनमुखी हुने दाबी गरेका छन् ।

प्रदेश सरकारले मंगलबार प्रदेश सभामा आगामी आर्थिक वर्षका लागि ३० अर्ब ३३ करोड ९४ लाख रुपैयाँको बजेट प्रस्तुत गरिएको थियो ।

आर्थिक मामिला तथा योजना मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री शाहले प्रदेश सरकार गठन भएपछि पहिलो पटक विकास र उत्पादनमुखी बजेट आएको दाबी गरे । उनले अहिलेसम्म भौतिक पूर्वाधार विकासका लागि बढीमा ३३ प्रतिशत बजेट मात्र छुट्याइएकोमा यस वर्ष बृद्धि गरी ३८ प्रतिशत पुर्‍याइएको बताए ।

मन्त्री शाहले सरकारको नयाँ बजेटमा पुँजिगत खर्चको प्रतिशत समेत बृद्धि गरिएको बताए । उनले भने– यस पटक चालु खर्च घटाएर ३५ प्रतिशतमा झारिएको छ भने पुँजिगत खर्च बढाएर ५८ प्रतिशत पुर्‍याइएको छ ।

प्रदेश सरकारले अघिल्लो आर्थिक वर्ष २०७५/७६ मा २५ अर्ब छ करोड ५६ लाख रुपैयाँको बजेट ल्याउँदा चालु खर्चको प्रतिशत ५३ र पुँजिगत खर्च ४७ प्रतिशत रहेको थियो । त्यस्तै, आर्थिक वर्ष ०७६/७७ मा २८ अर्ब १६ करोड २० लाख बजेट ल्याइएकोमा चालु खर्चतर्फ ४५ प्रतिशतन र पुँजिगत खर्चतर्फ ४६ प्रतिशत विनियोजन गरिएको थियो ।

त्यस्तै, चालु आर्थिक वर्ष ०७७/७८ मा ३३ अर्ब ५८ करोड ८६ लाख हुँदा चालु खर्चतर्फ ४२ दशमलव पाँच प्रतिशत र पुँजिगत खर्चतर्फ ५० प्रतिशत बजेट छुट्याइएको छ ।

नेकपा एमालेका ओली पक्षका सांसद्हरूले सरकारको बजेट वितरणमुखी बजेट भएको टिप्पणी भएकोप्रति प्रतिक्रिया दिँदै मन्त्री शाहले बजेट वितरणमुखी नभई विकास र उत्पादनमुखी भएको दाबी गरे ।

उनले भने– यो बजेट पुर्वाधार विकासमा केन्द्रित हुनुका साथै कृषिमा आत्मनिर्भर बनाउने र सामाजिक न्याय सहितको समृद्धि हालिस गर्ने उद्देश्यका साथ आएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार