७ बैशाख २०८१, शुक्रबार

सुदूरपश्चिम प्रदेश सरकारको नयाँ बजेट: स्वास्थ्य क्षेत्रमा आठ प्रतिशत विनियोजन



धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षमा प्रदेशमा स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर करिब अढाई अर्ब रुपैयाँ विनियोजन गरेको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्षलाई अस्पतालको स्तरोन्नती र सेवा सुधारको वर्षका रुपमा मनाउने घोषणा समेत गरेको छ ।

प्रदेश सभामा मंगलबार आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाहले प्रस्तुत गरेको आर्थिक वर्ष २०७८/०७९ को वार्षिक बजेटमा प्रदेशका अस्पताल तथा स्वास्ंथ्य संस्थाको स्तरोन्नति र सेवा सुधारमा दुई अर्व ४२ करोड ५८ लाख ९० हजार रुपैयाँ विनियोजन गरिएको छ । यो कुल बजेटको आठ प्रतिशत हो । प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३० अर्ब ३३ करोड ९४ लाख ५५ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेको छ ।

प्रदेश सरकारको नयाँ बजेटमा कोरोना खोपको पहुँच बृद्धि तथा स्वास्थ्य प्रयोगशालाको स्तरोन्नतिको घोषणा गरिएकोा छ ।

सरकारले आगामी आर्थिक वर्षमा कोरोना महामारी नियन्त्रणका लागि ९० करोड रुपैयाँ विनियोजन गरेको छ । त्यस्तै, महामारी नियन्त्रण तथा प्रयोगशाला सुद्धिकरणमा ९७ लाख ५० हजार, जेष्ठ नागरिक उपचारमा एक करोड, स्वास्थ्यकर्मी प्रोत्साहनका लागि चार करोड २० लाख, स्वास्थ्य सेवा विस्तार अन्तरगत औजार, उपकरण खरिद गर्न १० करोड ५० लाख ७० हजार, औषधि खरिद गर्न तीन करोड ७८ लाख, सेती अस्पतालमा ट्रमा सेन्टर र टीकापुरमा सरुवा रोग अस्पतालमा स्थापना र सञ्चालनका लागि पाँच करोड र आयुर्वेद अस्पतालमा पञ्चकर्म र पुर्वकर्मका लागि दुई करोड रुपैयाँ विनियोजन गरेको छ ।

बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री शाहले स्थानीय तह तथा प्रदेश सरकारको साझेदारीमा दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा पुर्याउन आधारभूत स्वास्थ्य भवन निर्माण गर्न एक करोड रुपैयाँ विनियोजन गरिएको बताए ।

प्रदेश सरकारले ‘हाम्रो प्रदेश, स्वस्थ प्रदेश’ कार्यक्रम, मुख्यमन्त्री ज्येष्ठ नागरिक स्वास्थ्य सेवा कार्यक्रम, स्वास्थ्यकर्मीलाई प्रोत्साहन लगायतका विगतका कार्यक्रमलाई आगामी आर्थिक वर्षमा पनि निरन्तरता दिएको छ ।

बजेट प्रस्तुतिका क्रममा मन्त्री शाहले भने– हाम्रो प्रदेश, स्वस्थ प्रदेश’ अन्तगत क्षयरोग, कुष्ठरोग, मलेरिया तथा प्रदेश कुपोषित कार्यक्रमलाई प्राथमिकता दिएको छु ।

अछामस्थित बयलपाटा अस्पतालको सुदृढीकरण तथा सुधारका लागि आठ करोड रकम र स्थानीय तहहरूमा रहेका स्वास्थ्य संस्थाको सुधार तथा सुदृढीकरणका लागि पुँजिगत तर्फ अनुदानको व्यवस्था गरेको मन्त्री शाहले जानकारी दिए ।

मन्त्री शाहले भने– छ हजार ३७ लाख महिला स्वास्थ्य स्वयंसेविकाले पुर्याएको योगदानको उच्च कदर गर्दै स्वास्थ्य विमा कार्यक्रमलाई निरन्तरता दिएको छौं । यसका लागि एक करोड पाँच लाख ६५ हजार रकम विनियोजन गरेको छु ।

प्रदेश सरकारले कडा रोगका विरामीलाई आर्थिक सहायताका लागि एक करोड २१ लाख, स्वास्थ्य संस्थामा स्वास्थ्य सेवा विस्तार तथा औजार उपकरण खरिदका लागि १० करोड ४९ लाख, र औषधि खरिदका लागि तीन करोड ७८ लाख रकम विनियोजन गरेको छ ।

स्वास्थ्यकर्मीहरूको योगदानको कदर गर्दै स्वास्थ्यकर्मी प्रोत्साहन कार्यक्रम अन्तर्गत चार करोड २० लाख र विमाका लागि ३० लाख रकम विनियोजन गरिएको छ ।

त्यस्तै, आगामी आर्थिक वर्षभित्रै सञ्चालनमा ल्याउने गरी प्रदेश सरकारले निर्माणाधिन अवस्थामा रहेको प्रादेशिक आयुर्वेद चिकित्सालयका लागि चार करोड ५२ लाख रकम विनियोजन गरेको छ ।

प्रदेश सरकारले यस वर्ष पनि आयुर्वेद कार्यक्रमलाई बढी जोड दिई बजेट विनियोजन गरेको छ ।

प्रदेश सभामा मन्त्री शाहले भने– आयुर्वेद संस्थामा आयुर्वेद तथा वैकल्पिक चिकित्सा सेवा विस्तारका लागि स्वास्थ्य जिवन नागरिक आरोग्य कार्यक्रम पूर्वकर्म, पञ्चकर्म सेवा विस्तारका लागि दुई करोड, महाकाली आयुर्वेद अस्पताल कञ्चनपुरलाई प्रादेशिक स्वास्थ्य केन्द्र स्थापना तथा सञ्चालनका लागि ९० लाख रकम विनियोजन गरेको छु ।

प्रदेशका आयुर्वेदिका प्रयोगशालाहरूको सुदृढीकरणका लागि ५० लाख, ज्येष्ठ नागरिकलाई घरमै उपचार सेवा दिनका लागि मुख्यमन्त्री ज्येष्ठ नागरिक स्वास्थ्य कार्यक्रमका लािग १ करोड ६० लाख रकम विनियोजन गरेको छ ।

त्यस्तै, सुत्करी तथा जटिल रोगका विरामीका लागि हवाई उद्दार कार्यक्रमलाई प्रदेश सरकारले निरन्तरता दिएको छ । हवाई उद्दार कार्यक्रमका लागि प्रदेश सरकारले ५३ लाख ३५ हजार रकम विनियोजन गरिएको छ ।

प्रदेश सरकारले सुत्करी महिलाका लागि सुरु गरेको ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रमलाई पनि निरन्तरता दिएको छ । यसका लागि एक करोड ११ लाख रकम विनियोजन गरिएको छ ।

प्रदेश सरकारले अस्पतालको भवन निर्माण कार्यक्रमलाई पनि निरन्तरता दिएको छ । प्रदेश सरकारले डोटी अस्पताल भवन निर्माणका लागि ५ करोड ३५ लाख, बेदकोट अस्पतालका लागि ५ करोड ३५ लाख, लम्की चुहा सामुदायिक अस्पतालका लागि आठ करोड, महाकाली अस्पतालको स्टाफ क्वाटर निर्माणका लागि ५ करोड ७५ लाख, जिल्ला अस्पताल मार्तडीको स्तरोन्नतिका लागि पाँच करोड र अछाम अस्पतालको भवन निर्माणका लागि १ करोड ५० लाख रकम विनियोजन गरेको मन्त्री शाहले बताए ।

मंगलबार सार्वजनिक गरिएको बजेमा खोपको पहुँच पुर्‍याइने र प्रयोगशालाको पनि स्तरोन्नति गर्ने उल्लेख गरिएको छ ।
विभिन्न आन्दोलनका घाइतेका लागि निशुल्क उपचार गर्न १० करोड रुपैयाँ छुट्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार