१० श्रावण २०८१, बिहीबार

सुदूरपश्चिम प्रदेशको आगामी आर्थिक वर्ष २९ अर्ब रुपैयाँ हाराहारीको बजेट आउँदै



धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि २९ अर्ब रुपैयाँको हाराहारीको बजेट ल्याउने भएको छ । चालू आर्थिक वर्ष २०७७/०७८ मा प्रदेश सरकारले साढे ३३ अर्ब रुपैयाँको बजेट ल्याएको थियो ।

यस वर्ष संघीय सरकारबाट प्रदेश सरकारले पाउने समानिकरण अनुदान र विशेष अनुदान कम हुुनुका साथै चालू आर्थिक वर्षको बजेटमा बचत समेत कम हुने भएपछि आगामी आर्थिक वर्षको बजेटको आकार घट्ने आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७८/०७९ बजेट २८ देखि २९ अर्ब रुपैयाँको बीचमा आउने छ ।

मन्त्रालयका सूचना अधिकारी खगेन्द्र साउँदले चालू आर्थिक वर्षको बजेटमा डेढ अर्बदेखि दुई अर्ब रुपैयाँ बचत हुने बताए । अघिल्लो आर्थिक वर्ष २०७६÷०७७ मा कोरोना महामारी रोकथामका लागि लामो समयसम्म लकडाउन हुनुका साथै विकास निर्माण योजनाहरू समेत प्रभावित हुँदा १० अर्ब ५७ करोड रुपैयाँ बचत भएको थियो । मन्त्रालयका सूचना अधिकारी साउँदले चालू आर्थिक वर्षमा लकडाउन भए पनि विकास निर्माण कार्य नरोकिएकोले बजेट खर्च ९० प्रतिशतभन्दा बढि हुने दाबी गरे ।

उनले आगामी आर्थिक वर्षमा भौतिक पूर्वाधार विकास मन्त्रालयलाई सबैभन्दा बढी बजेट विनियोजन हुने बताए । उनले भने आगामी आर्थिक वर्षका लागि भौतिक पुर्वाधार विकास मन्त्रालयले आठ अर्ब ४३ करोडको बजेट सिलिङ पठाएको छ । चालू आर्थिक वर्षमा भौतिक पुर्वाधार विकास मन्त्रालयको बजेट साढे ११ अर्ब रुपैयाँ रहेको छ ।

प्रदेश सरकारले आगामी आर्थिक वर्षमा स्वास्थ्य क्षेत्रलाई प्राथमिकता राखेर ठूलो रकम विनियोजन गर्ने तयारी गरेको छ । मन्त्रालयका सूचना अधिकारी साउँदले आगामी आर्थिक वर्षमा प्रदेशको सामाजिक विकास मन्त्रालयका लागि चार अर्ब ४५ करोड रुपैयाँको हाराहारीमा बजेट विनियोजन हुने छ । चालू आर्थिक वर्षमा सामाजिक विकास मन्त्रालयको बजेट करिब छ अर्ब रुपैयाँ रहेको छ ।

यसैगरी चालू आर्थिक वर्षमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले दुई अर्ब ३४ करोड रुपैयाँको बजेट सिलिङ पाएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयलाई एक अर्ब ५० करोड, मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलाई एक अर्ब १३ करोड, आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई ३७ करोड र आर्थिक मामिला तथा योजना मन्त्रालयलाई ३१ करोड रुपैयाँको बजेट विनियोजन गर्ने तयारी भएको छ ।

आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार सामाजिक विकास मन्त्रालयको स्वास्थ्य ईकाईहरू र स्वास्थ्य संस्थाको बजेट बाहेक सबै बजेट चालू वर्षको भन्दा कम हुने छ । संघीय सरकारबाट पाउने अनुदान नबढेको र चालू आर्थिक वर्षमा प्रदेश सरकारको बजेटमा थोरै रकम मात्र बचत हुने भएकोले आम्दानीका स्रोत संकुचन भई बजेटको आकार घटेको सूचना अधिकारी साउदले बताए ।

संघीय सरकारबाट आगामी आर्थिक वर्ष २०७८/७९ का लागि सुदूरपश्चिम प्रदेश सरकारलाई समानीकरण अनुदानतर्फ आठ अर्ब ५४ करोड ४० लाख रुपैयाँ, सशर्ततर्फ चार अर्ब १९ करोड ३३ लाख रुपैयाँ, विशेष अनुदानतर्फ ६१ करोड ३५ लाख रुपैयाँ र समपुरक अनुदान तर्फ एक अर्ब २२ करोड ९४ लाख रुपैयाँ विनियोजन गरेको छ ।

संघीय सरकारबाट सुदूरपश्चिम प्रदेशले १० अर्ब ६३ करोड १७ लाख रुपैयाँ चालूतर्फ र तीन अर्ब ९४ करोड ८५ लाख रुपैया पुँजिगततर्फ गरी १४ अर्ब ५८ करोड दुई लाख रुपैयाँ अनुदान पाउने छ ।

यसैगरी, प्रदेश सरकारको आन्तरिक राजश्व परिचालनबाट ८० करोड, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगबाट रोयल्टी बाँडफाँडवापत प्राप्त रकम र चालू वर्षको बजेट बचतलाई समावेश गरी प्रदेश सरकारले आगामी वर्षको बजेट निर्माण गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार