२ जेष्ठ २०८१, बुधबार

भीमदत्तद्धारा विशेषज्ञ डाक्टरको तलवका लागि १० लाख सहयोग




महेन्द्रनगर /
कञ्चनपुरको भीमदत्त नगरपालिकाले महाकाली प्रादेशिक अस्पताललाई विशेषज्ञ डाक्टरको सेवा सुविधाका लागि १० लाख रुपियाँ सहयोग गरेको छ ।

आइतबार नगरप्रमुख सुरेन्द्र विष्ट, उप–प्रमुख शुसिला चन्द सिंहले महाकाली अस्पताल व्यवस्थापन समिति अध्यक्ष कृष्णदत्त जोशी (बोक्सर), मेडिकल सुपरिटेन्डेन्ट तथा प्रमुख डाक्टर हरिकुमार श्रेष्ठलाई १० लाखको चेक हस्तान्तरण गरेका हुन ।

भीमदत्त नगरपालिकाले दुई जना चिकित्सकको सेवा सुविधा बाफतको परिश्रमिक बराबरको रकम उपलब्ध गराउने प्रतिवद्धता जनाएको थियो ।

भिमदत्त नगरपालिकाका नगर विष्टले विशेषज्ञ डाक्टरको सेवा उपलब्ध गराउन अस्पताललाई सहयोग गरिएको बताए । उनका अनुसार नगरपालिकाको पूर्व प्रतिवद्धता अनुरुप महाकाली अस्पतालाई सहयोग गरिएको हो ।

नागरिकको स्वास्थ्यलाई मध्य नजर गरेर नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको बताउदै नगर प्रमुख विष्टले स्वास्थ्य पूर्वाधार र सेवा विस्तारमा काम गरिरहेको उल्लेख गरे।

सरकारी स्केल अनुसार डाक्टरलाई सेवा सुविधाका लागि हालको रकम कम भएपनि अगामी आर्थिक वर्षबाट थप रकम सहयोग गरिन प्रतिवद्धता समेत उनले गरे ।

महाकाली अस्पताल विकास समितिले आन्तरिक श्रोतबाट व्यवस्थापन गर्न नसक्ने भएपछि नगरपालिकालाई आग्रह गरेको थियो । नगर प्रमुख विष्टले नगरपालिकाले विशेषज्ञ डाक्टरको अभावमा बिरामीको उपचारमा समस्या हुन नदिन अस्पताललाई आर्थिक सहयोग गर्ने प्रतिवद्धता गरेका थिए ।

अस्पताल विकास समितिका अध्यक्ष जोशीले नगरपालिकाको सहयोगले अस्पतालबाट विशेषज्ञ डाक्टरबाट सेवा दिन सफल भएको बताए । उनका अनुसार हाल प्रसुती रोग विशेषज्ञ र हाड जोर्नी रोग विशेषज्ञ डाक्टरलाई नगरपालिकाले तलब बराबरको पारिश्रमिक उपलब्ध गराउने प्रतिवद्धता जनाएको थियो ।

नगरपालिकाले अस्पताललाई आवश्यक परेका बेला सबै किसिमको सहयोग गरिरहेकोले आफूहरुलाई काम गर्न झनै सहज भएको बताउँदै अध्यक्ष जोशीले ‘नगरपालिकाले प्रादेशिक अस्पताल भएपनि आफ्नै अस्पताल झै सोचेर आवश्यक परेका बेला सहयोग गरिरहेको छ ।

त्यस्तै महाकाली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट श्रेष्ठले नगरपालिकाको सहयोग सेवा प्रवाहमा सहज भएको बताए । उनले भने कुनै बेला डाक्टर अभाव रहेको महाकाली अस्पतालमा हाल विशेषज्ञ डाक्टरसहितको सेवा प्रवाह भइरहेको छ ।

साथै सबैतिरको सहयोगले अस्पताल सुधार हुदैँ गएको उनको भनाई छ । त्यस्तै यसअघि अक्सीजन आफूर्तिका लागि पनि नगरपालिकाले महाकाली प्रादेशिक अस्पताललाई २० लाख सहयोग गरेको थियो भने शव बहान र मर्करी च्याम्बर सञ्चालनका लागि पनि नगरपालिकाले सहयोग गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार