१६ चैत्र २०८०, शुक्रबार

नेपाल-भारत सीमामा तारबार लगाउनै पर्छ : सांसद तामाङ



धनगढी  । सुदूरपश्चिमका प्रदेशका प्रदेश सभा सदस्य ताला लामा तामाङले नेपाल–भारतको सीमा क्षेत्रमा तारबार लगाउनपर्ने बताएका छन् । प्रदेश सभाको आठौँ अधिवेशनको औं बैठकमा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा बोल्दै सत्तारुढ एमालेका सांसद तामाङले सीमावर्ती क्षेत्रमा भारतको ज्यादती बढेको भन्दै यस्तो बताएका हुन् । 

‘अहिले पनि हुलाकी सडकमा काम गर्दा भारतीय सुरक्षाकर्मी आएर डराउने र धम्काउने काम गर्दै आएका छन्,’ तामाङले भने, ‘कञ्चनपुरदेखि दार्चुलासम्म कतै पनि सीमा व्यवस्थित नभएको हुँदा ठूलो बजेट लगानी गरेर संरचना निर्माण गर्न नसके पनि तारबार त गर्नैपर्छ ।’ तारबार गर्दैमा भारतसँग नराम्रो व्यवहार नहुने उनको भनाइ छ ।

‘तपाईं हामी सधैसँगै बस्‍ने दाई-भाई छुट्दा त घरमा पर्खाल लगाउँछौ । राष्ट्रियतासँग जोडिएको विषयमा हामीले यो कदम उठाउनैपर्छ,’ तामाङले भने । उनले नेपाल–भारत हुने आवतजावतलाई व्यवस्थित बनाउनका लागि पनि सीमामा तारबार आवश्यक रहेको बताए । तामाङ कञ्चनपुरबाट निर्वाचित सासंद हुन् । उनको निर्वाचन क्षेत्रमा पनि भारतले पटक-पटक ज्यादती गर्दै सीमा मिच्ने गरेको छ । अहिले पनि हुलाकी राजमार्गको निर्माणमा भारतीय पक्षले अवरोध गरिरहेको छ । 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार