कैलालीमा डाँका चोरी मुद्दामा फरार एक जना १० बर्षपछि पक्राउ
धनगढी । कैलालीमा डाँका चोरी मुद्दामा फरार एकजना १० बर्षपछि पक्राउ परेका छन् । धनगढी उप–महानगरपालिका वडा नम्बर- २ बस्ने ५० बर्षिय गोबिन्द राज अवस्थीलाई पक्राउ गरिएको हो ।
२०६५ साल मंसिर ५ गते जिल्ला कैलालीको साबिक मालाखेती गा.बि.स.वडा न.७ बाट यार्सागुम्बा लगायत नगद तथा जिन्सी सरसमान डाँका चोरीमा संलग्न रहेका थिए ।
त्यसबेला नै पक्राउ परी कैलाली जिल्ला अदालतको आदेशले धरौटी तारेखमा छुटेका थिए । तर सोही अदालतको मिति २०६८ असार ३१ गतेको फैसलाले उनलाई ६ बर्ष कैद र पैतालिस लाख अठतिस हजार पाँच सय पचास रुपैयाँ जरिवाना भएको थियो ।
पुनरावेदन अदालत र सर्वोच्च अदालतले पनि उनको मुदालाई कैलाली जिल्ला अदालतकै फैसलालाई सदर गरेको थियो ।
जरिवाना तिर्न बाँकी रहेका उनी त्यस यता फरार रहेका थिए । उनलाई प्रहरीले शनिबार कैलालीको धनगढी उप–महानगरपालिका वडा नम्बर ३ बाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।