१० श्रावण २०८१, बिहीबार

धनगढीमा सुरक्षित मातृत्व सञ्जालकाे एक महिने रक्तदान अभियान



धनगढी । सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा सञ्चालित एक महिने रक्तदान अभियानमा ३ सय ५० पिण्ट रगत संकलन भएको छ।

कोरोना महामारीकाबीच बिरामीहरुका लागि रगतको अभाव नहोस् भन्ने उदेश्यले सुरक्षित मातृत्व सञ्जाल महासंघ नेपालले जेठ १ गते देखि एक महिने रक्तदान अभियान सञ्चालन गरेको थियो। ‘रक्तदान, जीवनदान’ नारासहित धनगढीको रंगशाला मैदानमा एक महिना सम्म रक्तदान कार्यक्रम सञ्चालन गरिएकाे थियाे।

आज उक्त रक्तदान अभियानको समापन गरिएको छ। समापन कार्यममा सञ्जालका प्रदेश संयोजक विनय लामाले एक महिनाको अवधिमा ३ सय ५० पिण्ट रगत संकलन भएको जानकारी दिए।

पछिल्लो समयमा कोरोना कहर पनि घट्दै गएको र अस्पतालमा रगतको अभाव पनि नभएकाले रक्तदान अभियान अहिलेलाई समापन गरिएको संयोजक लामाले बताए।

हरेक दिन बिहान ७ देखि १० बजे सम्म सञ्चालन हुँदै आइरहेको यस कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी, कैलाली र धनगढी उपमहानगरपालिकाले सहकार्य गरेको सञ्जालका कैलाली जिल्ला अध्यक्ष तपेन्द्र भुषालले जानकारी दिए। यस्तै १८ वटा विभिन्न संघ, संस्था, युवा क्लबहरु,सामुदायिक वन, प्रतिष्ठानहरु लगायतको संयोजनमा रक्तदान भएको उनले बताए।

आइतबार अभियानको समापन गर्दै धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृपबहादुुर वडले सञ्जालले सञ्चालन गरेको यस अभियानले महामारीका बेला बिरामीहरुलाई ठूलो राहत भएको बताए। उनले आगामी दिनमा पनि रगतको अभाव हुन सक्ने हुँदा सहयोगका लागि तयार रहन आग्रह गरे।

सञ्जालका प्रदेश संयोजक लामाले अहिले रक्तदान अभियान समापन गरिएको र असार २ गतेदेखि कोरोना महामारीसँगै निषेधाज्ञाले समस्यामा परेका गर्भवती, एकल महिला, अपांग, विपन्न व्यक्तिहरुलाई पोषणयुक्त खाद्यान्न वितरण गर्ने कार्यक्रम रहेको जानकारी दिए।

उनले धनगढी उपमहानगरपालिका र कैलारी गाउँपालिकाका गरि ६सय ५० जनालाई प्रति व्यक्ति ४ हजार बराबरको पोषणयुक्त खाद्यान्न वितरण गरिने जानकारी दिए।

पछिल्लो समय यो सञ्जालले खासगरी महिला र बालबालिकाको स्वास्थ्यका क्षेत्रमा सुदूरपश्चिमका विभिन्न जिल्लाहरुमा लगातार काम गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार