१९ भाद्र २०८१, बुधबार

मुख्यमन्त्री विरुद्ध मतदान गर्नेलाई २४ घण्टे स्पष्टीकरण




धनगढी / संसदीय दलको ह्वीप उलंघन गर्ने सात जना प्रदेश सभा सदस्यलाई नेकपा (एमाले) को सुदूरपश्चिम संसदीय दलले स्पष्टीकरण सोधेको छ ।
दलका नेता प्रकाशबहादुर शाहले सात जना प्रदेश सभा सदस्यलाई स्पष्टीकरण सोधेका हुन ।

उनले नेकपा माओवादी केन्द्रका नेता तथा सुदूरपश्चिम प्रदेशका मुख्यममन्त्री त्रिलोचन भट्टलाई मतदान नगर्ने पूर्वमन्त्री पठानसिंह बोहरा, रतन थापा, नेपालू चौधरी, लिलाधर भट्ट, ग्याल्वुसिंह बोहरा, बलदेव रेग्मी, र माया तामाङ बोहरालाई स्पष्टीकरण सोधेका हुन ।

सातै जनालाई २६ गते साँझ ५ बजे भित्र स्पष्टीकरण बुझाउन भनिएको छ । स्पष्टीकरणमा चित्त बुझ्दो जवाफ नदिएमा, वा जवाफै नदिएमा दलको विधान अनुसार कार्वाही गरिने पत्रमा उल्लेख छ ।

दलको विधान २०७८ को दफा क, ख, ग, घ र ङ को अनुशासन व्यवस्था उलंघन गर्दे सोही विधानको दफा २६ को ४ आकर्षित हुने कार्य गरेको सो स्पटीकरण पत्रमा उल्लेख छ ।

सो विधानको दफा २६ मा ह्वीप उलंघन गरेमा प्रदेश सभाका समितिका बैठक वा प्रदेश सभाको बैठकमा भाग लिन नपाउने वा दलको सदस्यता निश्चित समयका लागि निलम्बन गर्न पाउने व्यवस्था छ ।

सातै जनाले एमालेको स्थायी समितिको निर्णय अनुसार सरकारमाथिको समर्थन फिर्ता लिइएकोले मुख्यमन्त्री विरुद्ध मतदान गरेको बताउछन् ।
स्पष्टीकरण सोधिएका प्रदेश सभा सदस्य लिलाधर भट्टले स्पष्टीकरण सोधिएको सवालमा पार्टी नेतृत्वमासंग सल्लाह गरेर निर्णय लिने बताए ।

उनले आफूले पार्टीको निर्णय अनुसार नै मुख्यमन्त्री विरुद्ध मतदान गरेको बताउदै संसदीय ऐन २०७३ अनुसार संसदीय दलले पार्टीको निर्देशन विना कुनै पनि कारवाही गर्न नसक्ने जिकिर गरे ।

अर्कोतिर एमालेको संस्थापन पक्षले पनि दलका नेता शाह सहित १७ जना प्रदेश सभा सदस्यलाई कार्वाही गर्ने तयारी थालेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार