२ जेष्ठ २०८१, बुधबार

नियम उल्लंघन भएको भन्दै प्रदेश सभा सदस्यको आपत्ती



धनगढी । सुदूरपश्चिम प्रदेश सभामा नियमावलीको उल्लंघन भएको भन्दै सत्तापक्षकै प्रदेश सभा सदस्यले आपत्ती जनाएका छन ।

सुदूरपश्चिम प्रदेश सभा सदस्य लिलाधर भट्टले मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मतका लागि प्रस्ताव पेश गर्दा नियम संगत नरहेको बताए ।

उनले भने –‘कानुनत: कुनै पनि निवेदन पेश गरेको ४८ घण्टा पुग्नुपर्छ । तर, यहाँ ४० घण्टा पनि ननाघ्दै काम कारबाही अघि बढाइएको छ ।’ उनले नियमावलीको उल्लंघन भएकोले प्रदेश सभाले नियमसंगत अघि बढ्नुपर्ने माग गरे ।

सोही समयपछि सभामुख अर्जुनबहादुर थापाले प्रदेश सभा नियमावली पढेर सुनाएका थिए । उनले भने –‘यो नियमावली बनाउँदा तपाई पनि सहभागि हुनुहुन्थ्यो । यसमा दुई दिन भनेको छ । कुनै समय तोकिएको छैन ।’

सभामुख थापाले यो शब्द दोहोर्याएपछि प्रदेश सभा सदस्य भट्टले पुन: आक्रोस पोखेका थिए । उनले भने –‘मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मतका लागि आइतबार साँझ ५ बजे प्रदेश सभामा निवेदन दर्ता गरेका थिए । अनि मंगलबार ११ बजेनै यो प्रस्तावलाई सदनमा किन प्रवेश गराईयो ।’

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार