२ जेष्ठ २०८१, बुधबार

मन्त्री सोडारी र एमाले प्रदेश पार्टी सचिव रावल दुबैले लगाए एक अर्कामाथि दुव्र्यवहारको आरोप



धनगढी । सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार मन्त्री दीर्घ सोडारी र नेकपा एमाले सुदूरपश्चिम सचिव राजेन्द्र सिंह रावल दुबैले एक अर्कामाथि दुव्र्यवहार गरेको आरोप लगाएका छन ।

सोमबार साँझ रावल पत्र बुझाउन मन्त्रालय गएको दावी गरिरहेका छन् ।

रावलले पत्र बुझाउन जाँदा मन्त्री सोडारीले आफूमाथि हातपातसहित दुव्र्यवहार गरेको आरोप लगाएका छन ।

‘पार्टी निर्देशन अनुसार सोमबार नेकपा एमालेका मन्त्रीसहित प्रदेश सभा सदस्यहरुलाई पत्र पुर्‍याउन गएको थिए । साँझ करिब साढे ७ बजे मन्त्री सोडारीले ममाथि हातपातसहित दुव्र्यवहार गरे’ उनले भने ।

आज (मंगलबार) मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत लिनुपर्ने कार्यक्रम तय भएकाले नेकपा एमालेबाट मन्त्री भएका तथा प्रदेश सभा सदस्यहरुलाई मुख्यमन्त्रीको विपक्षमा मत जाहेर गर्न पार्टीले पत्र पठाएको छ ।

यस्तै, मन्त्री सोडारीको सचिवालयले मन्त्रीमाथि नै दुव्र्यवहार भएको दाबी गरेको छ।

मन्त्री सोडारीका स्वकीय सचिव ललित बहादुर बोहराले एक विज्ञप्ति जारी गर्दै मन्त्रीले रावलमाथि दुव्र्यवहार गरेको नभइ रावलले नै मन्त्री सोडारीमाथि दुव्र्यवहार गरेको दाबी गरेको हो।

विज्ञप्तिमा भनिएको छ, ‘कञ्चनपुर बस्ने राजेन्द्रसिंह रावल भौतिक पूर्वाधार विकास मन्त्रालयमा मन्त्री ज्यूको कार्यकक्षमा प्रवेश गरी मन्त्री ज्यूलाई प्रदेश सभाको विषयमा कुरा गर्दै अभद्र व्यवहार गरेको प्रति मन्त्री ज्यूको सचिवालयको गम्भीर ध्यानाकर्षण भएको छ।’

आगामी आर्थिक वर्ष २०७८–२०७९ को बजेट छलफलमाथि ब्यस्त रहेको अवस्थामा सचिवालय र अंगरक्षकलाई समेत छलेर मन्त्री ज्यूको कार्यकक्षमा प्रवेश हुने कुरा अशोभानीय छ।’

त्यस्तै सचिव रावल गुण्डागर्डी शैलीमा प्रस्तुत भएको सो विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार