२ जेष्ठ २०८१, बुधबार

लैंगिक उत्तरदायी बजेटबारे छलफल




धनगढी/ सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७८ ०७९ को वार्षिक बजेटमा लैंगिक उत्तरदायी बजेटबारे सोमबार धनगढीमा छलफल भएका छ ।

सुदूरपश्चिम प्रदेश सभा, अर्थ विकास तथा प्राकृतिक स्रोत समितिको आयोजनामा भएको भर्चुअल छलफल कार्यक्रममा लैङ्गिक तथा समावेशी बजेटको दृष्टिबाट प्रदेशको विगतका बजेटको समिक्षा र आगामी बजेटका सिद्धान्त तथा प्राथमिकताबारे छलफल भएको थियो ।

कार्यक्रममा अर्थ विकास तथा प्राकृतिक स्रोत समितिका सभापति हर्कबहादुर कुँवरले प्रदेश सरकारको बजेटलाई वास्तविक अर्थमा समावेशी तथा लैंगिक उत्तरदायी बनाउन हरसम्भव प्रयास गर्ने प्रतिवद्धता व्यक्त गरे ।

उनले भने– प्रदेशका सबै महिला, दलित, आदिवासी जनजाति, पछाडी पारिएका वर्ग समुदाय सहित सिमान्तकृत वर्ग, समुदायको भावना र चाहना अनुरुपको बजेट तथा नीति कार्यक्रम बनाउन समितिले काम गर्नेछ ।

कार्यक्रममा पूर्व प्रमुख सूचना आयुक्त तथा पूर्व सचिव कृष्णहरि बास्कोटाले सुदूरपश्चिम प्रदेश सरकारका चालू तथा अघिल्ला आर्थिक वर्षका बजेटमा समावेशी तथा लैंगिक उत्तरदायी बजेटका लागि भए गरेका व्यवस्था, कार्यान्वयनको अवस्था लगायतका विषयमा समिक्षात्मक प्रस्तुति गरेका थिए ।

कार्यक्रममा संविधान सभा सदस्य कमला विश्वकर्मा र सुदूरपश्चिम प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव झलकराम अधिकारीले लैंगिक उत्तरदायी बजेटका विविध पक्षबारे छलफल गरेका थिए ।

कार्यक्रममा संसद सहयोग परियोजनाका कार्यक्रम प्रवन्धक राजबहादुर श्रेष्ठले सुदूरपश्चिम प्रदेश सरकारको पछिल्ला तीन वर्षको बजेटमा लैंगिक तथा समावेशीको अवस्थाको समिक्षा तथा सरकारको बजेटबाट सिमान्तकृत वर्ग तथा समुदायलाई कसरी लाभ पुर्याउन सकिन्छ भन्नेबारे छलफल गर्न कार्यक्रम आयोजना गरिएको चर्चा गरे ।

कार्यक्रमको सञ्चालन प्रदेश सभाका अधिकृत युवराज जैशीले गरेका थिए ।

कार्यक्रममा प्रदेश सभा सदस्यहरू, विभिन्न मन्त्रालयका सचिव तथा अधिकृतहरू, संसद सहयोग परियोजनाका अधिकृतहरू, सञ्चारकर्मी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार