१४ बैशाख २०८१, शुक्रबार

बालुवाटारमा बस्दै एमालेको स्थायी कमिटी बैठक



काठमाडौं । पार्टीको आन्तरिक कारण भन्दै बुधबार स्थगित भएको नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज बस्ने भएको छ। बैठक बिहीबार (आज) अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले बताए। 

आजको बैठक विशेषगरी पार्टीलाई फुट्नबाट बचाउने विषयमा छलफल हुने जनाइएको छ। यसअघि पार्टीको ‘एकता बचाउन’ भन्दै भइरहेका प्रयासलाई मध्यनजर गरेर बुधबारको स्थायी कमिटी बैठक स्थगित भएको जनाइएको छ।

यसअघि मंगलबार बसेको स्थायी कमिटी बैठकले एकताका लागि अन्तिमसम्म प्रयास गर्ने निर्णय गरेको थियो।

एमालेले वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालसहित ११ जना सांसदलाई साधारण सदस्यसमेत नरहनेगरी निष्काशन गरेपछि पार्टी फुट्ने निश्चित भएको टिकाटिप्पणी भइरहेको थियो।

सर्वोच्च अदालतले फागुन २३ गते एमाले ब्युँताइदिएपछि अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीलाई लिएर माधवकुमार नेपाल पक्षले समानान्तर पार्टी संरचनाको अभ्यास गर्दै आएको छ। पछिल्लोपटक ११ जनालाई निष्काशन नै गरिएपछि नेपालले नयाँ पार्टी दर्ताका लागि तयारी गरेका खबर आइरहेका थिए।

ओली र नेपाल दुवैपक्षका दोस्रो तहका नेताहरु भने अझै पनि एकता जोगाउन सकिने भन्दै प्रयास गरिरहेका छन्। पछिल्ला दिनमा नेपाल समूहका घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, योगेश भट्टराई र गोकर्ण विष्ट तथा ओलीका तर्फबाट विष्णु पौडेल, सुवास नेम्वाङ, प्रदीप ज्ञवाली लगायतका नेताहरुले निरन्तर छलफल गर्दै आएका छन्। 

यता ओली पक्षले भने थप १२ जना सांसदलाई स्पष्टीकरण सोधेको छ। आजको बैठकमा ती सांसदलाई गरिने कारबाहीबारे केही निर्णय हुन सक्ने जनाइएको छ।

स्थायी कमिटी बैठकले १२ जनामध्ये कतिपयलाई कारबाही गर्नसक्ने कार्यालय सचिव तामाङले बताए। लिखित रुपमा कसैले जवाफ नपठाए पनि कतिपयले मौखिक रुपमा नेतृत्वसँग छलफल गरेको उनले बताए। 

स्पष्टीकरण सोधिएकाहरुमा घनश्याम भूसाल, सुरेन्द्र पाण्डे, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल, भवानी प्रसाद खापुङ, यज्ञ सुनुवार, मेटमणि चौधरी, दिपकप्रकाश भट्ट र नारायण खतिवडा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार