३ आश्विन २०८१, बिहीबार

को हुन् लुम्बिनीमा एमालेलाई हराउने पाण्डे?



काठमाडौं । लुम्बिनी प्रदेशमा सोमबार सम्पन्न राष्ट्रिय सभा उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेद्‌वार दृगनारायण पाण्डे निर्वाचित भएका छन्। उनले नेकपा (एमाले)का उम्मेद्‌वार चन्द्रबहादुर खड्कालाई पराजित गरे।

पाण्डेले ४ हजार १४० मतभार पाए भने खड्काले ३ हजार ६१२ मतभार पाए। पाण्डेलाई नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाको पनि साथ थियो।

जम्मा ३०० मतदाता रहेको लुम्बिनीमा २९७ मत खसेको थियो। तीन स्थानीय तहका प्रमुख मतदानमा अनुपस्थित भएका थिए। 

यसअघि माओवादी केन्द्रको तर्फबाट निर्वाचित खड्का एमाले प्रवेश गरेपछि उपनिर्वाचन भएको हो। एमालेले खड्कालाई नै पुन: उम्मेद्‌वार बनाएको थियो।

सोमबार निर्वाचित पाण्डे यसअघि एमालेको तर्फबाट लुम्बिनीको प्रदेशको प्रदेश सभा सदस्य थिए। उनले १९ वैशाखमा प्रदेश सभा सदस्यबाट राजीनामा दिएर कांग्रेस प्रवेश गरेका थिए। 

मुख्यमन्त्री शंकर पोखरेलाई समर्थन गर्नुपर्ने अवस्था आएपछि उनले सांसद पदबाट राजीनामा दिएका थिए।

पाण्डे २०७४ मा भएको प्रदेश सभा निर्वाचनमा हृदेश त्रिपाठी समूहबाट सूर्य चिन्ह लिएर कपिलवस्तु क्षेत्र नम्बर २ ‘क’ बाट निर्वाचित भएका थिए। त्रिपाठी स्वतन्त्र समूहमै रहेपनि पाण्डे एमाले प्रवेश गरेका थिए।

स्वतन्त्र समूहबाट चुनाव लड्नुअघि पाण्डे नेपाली कांग्रेसकै सक्रिय थिए।

यससँगै राष्ट्रिय सभामा कांग्रेसको एक सिट थपिएको छ। २०७६ माघमा १९ जना सांसदको दुई वर्षे पदावधि राष्ट्रिय सभाबाट सकिँदा भएको निर्वाचनमा कांग्रेसले ७ जना सांसद गुमाएको थियो।

तत्कालीन समयमा कुल १३ जना सांसदमा सात जना उम्मेदवार नै पराजित हुँदा राष्ट्रिय सभामा कांग्रेस ६ जनामा खुम्चिएको थियो।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार