१५ बैशाख २०८१, शनिबार

एसईई अन्योलले विद्यार्थी तनावमा



अछाम । मंगलसेन नगरपालिका–५ की तुलसी भाट  षोडशा मावि मंगलसेनमा कक्षा १० पढ्छिन् । कोरोना संक्रमण फैलिएपछि उनको पढाइ पनि अस्तव्यस्त बन्यो । नियमित कक्षा सञ्चालन भएको भए अहिले उनी नतिजाको पर्खाइमा हुने थिइन् ।

तर, अहिलेसम्म एसईई दिन नपाउँदा उनी तनावमा छिन् । ‘अघिल्लो वर्ष पनि यस्तै बित्यो । यो पटक पढाइ भएको छैन । एसईई परीक्षा निश्चित छैन । भविष्यको पढाइसमेत बिग्रने डर लागेको छ,’ उनले भनिन्, ‘निषेधाज्ञा मात्र भइराख्ने हो, विद्यालय बन्द हुने हो र परीक्षाको बारे निर्णय नहुँदा म जस्ता धेरै विद्यार्थी तनावमा छन् ।’परीक्षा कहिले हुन्छ, हुँदैन भन्नेबारे विद्यार्थीलाई जानकारी दिनुपर्ने शोडषा माविमा कक्षा १० मा अध्ययनरत मनोज साउँद बताउँछन् । ‘पढेको कुरा पनि बिर्सिसक्यौं । ३० प्रतिशतभन्दा बढी पढाइ भएको छैन । वैकल्पिक विधिबाट पनि पढाइ भएको छैन,’ उनले भने, ‘विद्यार्थीलाई अन्योलमा राखेर तनाव दिने काम भइरहेको छ ।’

विद्यालयले आन्तरिक मूल्यांकनबाट नम्बर दिँदा अघिल्लो वर्षका धेरै विद्यार्थीको चित्त नबुझेको मनकामना मावि बलाताकी छात्रा सीता साउँद बताउँछिन् । ‘वर्षभरि पढाइको बारेमा सोच्दा सोच्दै बस्छौं । महँगो शुल्क तिरेर अतिरिक्त कक्षाहरू लिन्छौं । अन्तमा सरहरूले आफ्नो नजरमा विद्यार्थी जस्तो छ, त्यही मूल्यांकन गरेर नम्बर दिन्छन्,’ उनले भनिन्, ‘कोर्स पूरा गरेर परीक्षा दिन पाउनुपर्छ भन्ने हाम्रो माग हो । तर अहिलेसम्म केही टुंगो छैन ।’

कोरोना संक्रमणका कारण एसईई मात्र नभएर अरू कक्षाका पढाइ र परीक्षा पनि अन्योलमा छन् । विद्यालय निरन्तर कक्षा सञ्चालन हुन नसकेको र अन्य माध्यमबाट पनि पढाइ नभएपछि विद्यार्थीसँगै अभिभावक पनि उत्तिकै चिन्तित छन् ।

‘घरमा बसेर पढभन्दा पनि पढाइ केही भएको छैन हामी जान्दैनौं के पढ्ने भन्छन् । गाउँमा सबै केटाकेटी जम्मा हुन्छन् डुल्छन् । पढाइ बिर्सिसकेकी जस्तो लाग्छ,’ मंगलसेन ५ की एक अभिभावक पार्वती ढुंगानाले भनिन्, ‘सधैंभरि यस्तै भइराख्ने हो भने छोराछोरी बिग्रन्छन् भन्ने पीर लाग्छ ।’

जाल्पा आधारभूत विद्यालयकी शिक्षक रमना खनाल लकडाउनमा बालबालिका जोखिममा मात्रै नभएर पढाएको समेत बिर्सने गरेको बताउँछिन् । ‘रेडियोको पहुँच नै नभएको गाउँमा अनलाइन कक्षा र टेलिभिजन कक्षा त सपना जस्तै हुन् । पढाइ पूरा नहुँदा हामी पनि तनावमा छौं,’ उनले भनिन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार