१५ चैत्र २०७९, बुधबार

पहिरोले पाकेको गहुँबाली नष्ट, २० घर उच्च जोखिममा



बाजुरा । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका–३ जुकोटमा गए राति पहिरो खस्दा पाकेको गहुँबाली बगाएको छ। निरन्तरको वर्षाका कारण वाइकुलो नजिकै पहिरो बगेपछि गहुँ, जौँ बालीमा पूर्णरुपमा क्षति पुर्‍याएको त्यहाँका स्थानीयवासीले बताएका छन्। वर्षाले घट्टेखोलाबाट वाइसम्मको सिँचाइ कुलोमा पानीको बहाव बढेपछि कुलोमुनिबाट पहिरो बगेको त्यहाँका स्थानीयवासीको भनाइ छ।

उक्त स्थानका करिब २० परिवारको गहुँ, जौँ बालीमा क्षति पु¥याएको स्थानीयवासीले बताएका छन्।

अविरल वर्षा नरोकिएमा पहिरो पुनः जाने सम्भावना बढेको छ। यस्तै २० घर पहिरोको उच्च जोखिममा रहेको स्थानीयवासी मेघराज शाहीले जानकारी दिए।

गाउँमाथि रहेको खेतबारीमा पाकेको गहुँ, जौँलगायत बाली नष्ट पारिसकेको र अझै वर्षा नरोकिएमा पहिरो आएर घर बगाउने जोखिम रहेको शाहीको भनाइ छ ।

पहिरोको उच्च जोखिममा रहेका घरपरिवारलाई तत्काल घर खाली गरी सुरक्षित स्थानमा बस्न लगाइएको छ। 

प्रतिक्रिया दिनुहोस्