१७ बैशाख २०८१, सोमबार

वन मन्त्री आलेले स्टिकर टाँसेर बाँडेका अक्सिजन सिलिन्डरको ‘नोजल’मा समस्या



कैलाली । वन तथा वातावरण मन्त्री प्रेम आलेले वितरण गरेका अक्सिजन सिलिन्डरका नोजलमा समस्या देखिएको छ। आलेले आफ्नै स्रोतमा डोटीमा ६० र कैलालीको सेती प्रादेशिक अस्पताललाई ५० अक्सिजन सिलिन्डर सहयोग गरेका थिए।

उनले दिएका अक्सिजन सिलिन्डरका नोजल पहिलाका सिलिन्डरमा प्रयोग गरिरहेका भन्दा भिन्नै प्रकारका रहेकाले रिफिल गर्न फेर्नुपर्ने देखिएको सेती प्रादेशिक अस्पतालका बायो मेडिकल इक्वीपमेन्ट टेक्नेसियन अरुण पनेरुले बताए।

‘सबै प्रयोगमा आइसकेका त छैनन्। तर प्रयोग गरिएका अधिकांशमा नोजल रिफिल गर्दा फेर्नुपर्ने र कतिपयको नोजल लिकेज भइरहेको जस्तो पनि देखिनआएको छ’ उनले भने।

यो विषयमा सम्बन्धित निकायलाई जानकारी गराइसकेको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताए।

‘रेगुलेटर भन्दामाथि लाग्ने फ्लो मिटर फरक खालको आएकाले भरिएको अक्सिजन सकिएपछि थन्काउनुपर्ने स्थिति बनेको छ’ उनले भने, ‘हामीले जानकारी गराइसकेकाले नयाँ आएपछि यतै जडान गर्न सकिने रहेछ। त्यसैले नयाँ पठाउने विषयमा पहल भइसकेको छ।’

आफ्नो अनुहारसहितको स्टिकर राखेर अक्सिजन सिलिन्डर वितरण गरेको तस्विर सार्वजनिक भएपछि मन्त्री आलेको आलोचना भएको थियो।

चीनबाट ल्याइएका यस्ता सिलिन्डरहरु नेपालमा प्रयोग भइरहेका सिलिन्डर भन्दा फरक रहेकाले अर्कै नोजल र फ्लो मिटर राख्नुपर्ने देखिएको हो।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार