एमालेले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन कायमै राख्ने

धनगढी । नेकपा एमालेले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता नलिने भएको छ।
संसदीय दलको आज बसेको बैठकले अहिलेकै सरकारलाई निरन्तरता दिने निर्णय गरेको हो।
एमालेलाई एकताबद्ध बनाउँदै सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय भएको प्रदेश सांसद पूर्णा जोशीले बताइन्।
‘जनताको जिउँधनको सुरक्षा, ज्यान बचाउने कुराहरू पहिलो प्राथमिकतामा राखेर महामारी निण्न्त्रणमा सरकारले प्रभावकारी रुपमा काम गर्ने र तत्कालका लागि समर्थन फिर्ता नलिने निर्णय भएको उनको भनाइ छ।
उनले दीर्घकालीनरूपमा सबै राजनीतिक दलहरूसँग सार्थक संवादका माध्यमबाट सरकारको नेतृत्व परिवर्तन गर्नका लागि पनि संवाद थाल्ने निर्णय भएको बताइन्।
‘वर्तमान परिस्थितिलाई तत्कालै सरकारमा गएका मान्छेहरूलाई फिर्ता गरेर सरकार बन्न सक्ने अवस्था नरहेको र बजेट पनि जेठ १५ भित्र ल्याउनु पर्ने भएकाले हतारोको निर्णय नगरिकन परिपक्व निर्णय गरेर मात्रै जाने भन्ने निर्णय भएको छ,’ उनले भने।