२२ बैशाख २०८१, शनिबार

पछिल्लो हप्ता विश्वभर कोरोना संक्रमण र मृत्युदरमा कमी : डब्लूएचओ



काठमाडौँ । विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)का अनुसार पछिल्लो साता विश्वभर कोरोना भाइरसको संक्रमण र मृत्युमा कमी देखिएको छ । पछिल्लो साता विश्वभर करिब ४१ लाखमा संक्रमण पुष्टि भएको छ भने ८४ हजारको मृत्यु भएको छ ।

पछिल्लो साता त्यसअघिको सातामा भन्दा संक्रमणमा १४ प्रतिशत र मृत्युमा २ प्रतिशतले कमी आएको डब्लूएचओको साप्ताहिक रिपोर्टमा उल्लेख छ ।

डब्लूएचओको तथ्यांकअनुसार युरोपेली क्षेत्रमा नयाँ केस र मृत्युमा सबैभन्दा बढी कमी आएको देखिएको छ । त्यस्तै दक्षिण–पूर्वी एसियाली मुलुकमा पनि संक्रमणमा कमी आएकाले केही राहत महसुस गरिएको छ । अमेरिकी, भूमध्यसागरीय तथा पश्चिमी प्रशान्त क्षेत्रको अवस्था भने अघिल्लो साताकै जस्तो रहेको छ ।

पछिल्लो ४ हप्तामा विश्वका केही मुलुकको अवस्थामा सुधार आएको जस्तो देखिए पनि मृत्यु हुनेको संख्यामा भने कमी आउन सकेको छैन ।

भारतमा पछिल्लो पटक दैनिक संक्रमित हुनेको संख्यामा उल्लेख्य कमी आएको छ । कुनै बेला दैनिक ४ लाखभन्दा बढीमा संक्रमित पुष्टि भइरहेको भारतमा अहिले करिब २ लाखको हाराहारीमा संक्रमण पुष्टि भइरहेको छ । भारतमा मंगलबार ४० दिनपछि पहिलो पटक २ लाखभन्दा कममा कोरोना पुष्टि भएको थियो ।

भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २ लाख ८ हजार ९ सय २१ जनामा संक्रमण पुष्टि भएको छ भने ४ हजार १ सय ५७ को मृत्यु भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा २ लाख ९५ हजार ९ सय ५५ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार