राष्ट्रपतिबाट संसद्को हुर्मत लिने र लोकतन्त्रलाई गम्भीर संकटमा पार्ने काम भयो : महासंघ
काठमाडाैं- नेपाल पत्रकार महासंघले वैकल्पिक सरकार बन्नसक्ने अवस्था हुँदाहुँदै प्रतिनिधिसभा विघटन गरेर निर्वाचन घोषणा गरिएकोप्रति आपत्ति जनाएको छ।

राष्ट्रपतिबाट संविधानबमोजिम वैकल्पिक सरकार बन्नसक्ने अवस्था विद्यमान रहँदारहँदै मध्यरातमा प्रतिनिधिसभा विघटन गरेर निर्वाचन घोषणा गर्ने कदमले संविधान र संसद्को हुर्मत लिने, लोकतन्त्रलाई गम्भीर संकटमा पार्ने काम गरेको महासंघको ठहर छ।
‘जनतालाई संविधान प्रतिकूलको चुनाव नभएर अहिले महामारीबाट बच्न उपचार चाहिएको छ। अस्पतालमा बेड र अक्सिजन चाहिएको छ। यस्तो गम्भीर अवस्थामा जनताको उपचारमा ध्यान नदिएर सरकारले मध्यरातमा चुनावको सिफारिस गर्ने र सरकार बन्ने आधार हुँदाहुँदै सम्मानीय राष्ट्रपतिबाट चालिएको जालझेलपूर्ण कदम नेपालको परिवर्तनकारी आन्दोलनले प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्रसहितका व्यवस्थाविरुद्धको प्रहार हो,’ महासंघद्वारा शनिबार जारी विज्ञप्तिमा उल्लेख छ।
राष्ट्रपतिबाट पछिल्लो दुई दिनमा चालिएका कदम संविधान र संसदीय लोकतान्त्रिक मान्यताका विरुद्धमा रहेको महासंघले बताएको छ। ‘संविधानको धारा ७६ (३) अनुसार नियुक्त भएका प्रधानमन्त्रीले संविधानको अनिवार्य शर्तअनुसार प्रतिनिधिसभाबाट ३० दिनभित्र विश्वासको मत लिनुपर्नेमा २०७८ जेठ ६ गते साँझ सम्माननीय राष्ट्रपतिबाट धारा ७६ (५) अनुसार नयाँ प्रधानमन्त्री नियुक्तिको प्रक्रिया थालिनुलाई नेपाल पत्रकार महासंघले यसअघि नै असंवैधानिक कदम भनेर विरोध गरिसकेको छ,’ विज्ञप्तिमा भनिएको छ।
महासंघले संविधानमाथि निर्मम प्रहार हुँदा त्यो प्रहार रोक्नका लागि संविधानको संरक्षक मानिने राष्ट्रपति संस्थासँग आग्रह गरेको छ। साथै, प्रेस तथा अभिव्यक्ति र नागरिक स्वतन्त्रताका पक्षधरहरु असंवैधानिक कदमका विपक्षमा दृढताकासाथ एक ठाउँमा उभिन र लोकतान्त्रिक मूल्य मान्यताको रक्षाका लागि सहकार्य गर्न सबैमा अपिल गरिएको छ।




