१० श्रावण २०८१, बिहीबार

स्वास्थ्य सामग्रीसहित एन्टिजेन कीट सहयोग



बाजुरा । बाजुरामा नयाँ भेरियन्टको कोरोना भाइरस सङ्क्रमण बढ्न थालेपछि परीक्षणको दायरा बढाउनका लागि स्वास्थ्य सामग्रीसहित एन्टिजेन कीट सहयोग गरिएको छ। मानवीय सेवामा अनेकौँ प्रयास धनगढीले बुढीगङ्गा नगरपालिकालाई शुक्रबार स्वास्थ्य सामग्री र १०० वटा एन्टिजेन कीट सहयोग गरेको नगरपालिकाले जनाएको छ।

नगरपालिकामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएको र एन्टिजेन कीट अभाव भए पनि समन्वय गरेर उक्त संस्थाले १०० वटा एन्टिजेन कीट सहयोग गरेको नगरप्रमुख दीपकविक्रम शाहले बताए। संस्थाका अध्यक्ष भक्तराज जोशीले नगरप्रमुख शाहलाई १०० एन्टिजेन कीटसहित स्वास्थ्य सामग्री हस्तान्तरण गरे। उक्त संस्थाले नगरपालिकालाई चार हजार थान सर्जिकल मास्क, ५० थान ग्लोब्स, १० लिटर  स्यानिटाइजर, पिपिइ सेट दुई वटा हस्तान्तरण गरेको अध्यक्ष जोशीले जानकारी दिए।

उनले दिएको जानकारीअनुसार नगरपालिकाको माग गरेअनुसार संस्थाले स्वास्थ्य सामग्री र एन्टिजेन कीट सहयोग गरेको बताए। 

एन्टिजेन किट सहयोगपछि नगरपालिकाको ७, ८ र ९ वडामा रहेका ४२ स्थानीयवासीको कोरोना परीक्षण गरिएको छ। उक्त वडामा रहेका स्थानीयवासीको एन्टिजेन प्रविधिबाट कोरोना परीक्षण  गर्र्दा २० जनालाई सङ्क्रमण देखिएको नगरप्रमुख शाहले बताए। 

त्यसैगरी जिल्ला अस्पताल बाजुरालाई दुईवटा अक्सिजन सिपलण्डर सहयोग गरिएको छ। धनगढीमा व्यवसाय गर्दै आएका त्रिवेणी नगरपालिका–९ पैमाका राजेन्द्र खत्रीले आफ्नै लगानीमा दुईवटा अक्सिजन सिलिण्डर सहयोग गरेका छन्। कोरोना भाइरसको सङ्क्रमणबाट उपचाररत बिरामीले अक्सिजन नपाएर अकालमा ज्यान नगुमाउन भनेर सो सिलिण्डर सहयोग गरेको खत्रीले बताए। उनले जिल्ला अस्पताल बाजुरामा भेन्टिलेटर, आइसीयू स्थापनाका लागि रु ५१ हजार सहयोग गर्दै अभियानसमेत चलाएका छन्। 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार