कैलारीको वडा कार्यालयमा चोरी, स्वास्थ्य भवनमा आगजनीको प्रयास
हसुलिया । कैलालीको कैलारी गाउँपालिका वडा नम्बर ४ को वडा कार्यालयमा चोरी भएको छ । अज्ञात व्यक्तिले शुक्रबारराति वडा कार्यालयमा चोरी गरेको हो । साथै, स्वास्थ्यको भवनमा आगजनीको प्रयाससमेत गरिएको छ । चोरले वडा कार्यालयको ताला तोडेर एउटा एलसीडी, चार हजार रुपैयाँ र पानी तान्ने मोटर चोरेको गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले जानकारी दिए ।
उनका अनुसार चोरले सीसी क्यामेरामासमेत क्षति गरेको छ । सीसी क्यामेरा जडान गरिएको कम्प्युटरको हार्डडिस्क निकालेर फालेको जनाइएको छ । सो हार्डडिस्क फेला परे पनि नचलेका कारण त्यसमा रेकर्ड फुटेज हेर्न नसकिएको अध्यक्ष चौधरीले बताए । ‘हार्डडिस्क खुलेमा चोर पत्ता लाग्न सक्छ’, उनले भने । यसअघि पनि सोही वडा कार्यालयबाट ७५ हजार रुपैयाँ चोरी भएको थियो । पहिले र अहिलेको चोरी घटनाको प्रकृति एउटै देखिएकाले पहिले चोरी गरेकै चोरले यसपटक पनि चोरी गरेको हुन सक्ने आफूहरुको आशंका रहेको चौधरीको भनाइ छ ।
उनले वडा र स्वास्थ्य कार्यालयको नयाँ भवनमा घेरबार नभएकाले चोरीको समस्या हुँदै आएको र यस्तो कार्यमा जड्याहा वा लागुऔषध प्रयोगकर्ताको संंलग्नता हुन सक्ने बताए । यसैगरी, चोरले सोही वडाको स्वास्थ्य कार्यालयमा आगजनीको प्रयास गरेको छ । स्वास्थ्य भवनको ताला तोरेर ढोकामा पराल जलाइएको जनाइएको छ । घटनामा संलग्न दोषीलाई पत्ता लगाउनका लागि प्रहरीले अनुसन्धान गरिरहेको अध्यक्ष चौधरीले बताए ।