१० श्रावण २०८१, बिहीबार

ओली र देउवाको दाबी खारेज गर्न थापाको माग, भने- चुनाव घोषणा गरियोस्



काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष परेकाे सरकार बनाउने दाबी खारेज गर्न माग गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत् थापाले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेसका सभापति शेरबहादुर देउवाकाे तर्फबाट परेको नयाँ सरकारको दाबी खारेज गरेर चुनाव घोषणा गर्न माग गरेका हुन्।  दुवै दाबी जाली र किर्ते भएकाे उनकाे ठहर छ। 

‘राष्ट्रपति महोदय,दुवै दावीमा संविधानको धारा ७६(५)अनुसार बिश्वासको मत प्राप्त गर्ने आधार छैन,’ उनले लेखेका छन्, ‘दुवै जाली/किर्ते हुन्। दुवै खारेजगरी संविधान बमोजिम चुनाव घोषणा होस्।’

प्रधानमन्त्रीमा देउवाले १४९ सांसदको हस्ताक्षरसहित दाबी गरेका छन्। उनले कांग्रेस, माओवादी केन्द्र, एमालेको माधवकुमार नेपाल पक्ष र जसपाको बाबुराम भट्टराई र उपेन्द्र यादव पक्षका सांसदहरुको हस्ताक्षरसहित दाबी गरेका हुन्।

त्यस्तै, बिहीबारमात्रै बहुमत जुटाउन नसक्ने निष्कर्षका साथ मार्गप्रशस्त गरेको बताएका प्रधानमन्त्री ओलीले पनि बहुमत सांसदको हस्ताक्षर बुझाएका छन्। 

उनले बुझाएको हस्ताक्षरमा भने एमालेका १२१ सांसदको हस्ताक्षर आफैंले र जसपाका ३२ जनाको सांसद महन्थ ठाकुर र राजेन्द्र महतोले गरेको बताइएको छ।

थापाले संघीय गणतन्त्रलाई नेताहरुले गाईजात्रामा परिणत गरेको आराेप लगाएका छन्।

‘यिनीहरूले संघीय गणतन्त्रलाई गाईजात्रामा परिणत गरे,लोकतन्त्रको नाममा ब्रम्हलुट गरे। अब जनतालाई विकल्प खोज्ने अवसर दिनुपर्छ,’ उनले लेखेका छन्।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार