१० श्रावण २०८१, बिहीबार

प्रधानमन्त्रीका लागि दुई जनाको दाबी



काठमाडौं । प्रधानमन्त्रीमा दाबीका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समयसीमामा दुई वटा दाबी परेका छन्। प्रधानमन्त्रीमा दाबी गर्नका लागि शुक्रबार बेलुका ५ बजेसम्मको समय दिइएको थियो।

प्रधानमन्त्रीमा कांग्रेस सभापति शेरबहादुर देउवाले १४९ सांसदको हस्ताक्षरसहित दाबी गरेका छन्। उनले कांग्रेस, माओवादी केन्द्र, एमालेको माधवकुमार नेपाल पक्ष र जसपाको बाबुराम भट्टराई र उपेन्द्र यादव पक्षका सांसदहरुको हस्ताक्षरसहित दाबी गरेका हुन्। दाबी प्रस्तुत गरेर उनीसहितको टोली ५ बज्नुभन्दा केही मिनेटअघि मात्रै राष्ट्रपति कार्यालयबाट बाहिरिएको थियो।

त्यस्तै, बिहीबारमात्रै बहुमत जुटाउन नसक्ने निष्कर्षका साथ मार्गप्रशस्त गरेको बताएका प्रधानमन्त्री केपी शर्मा ओलीले पनि बहुमत सांसदको हस्ताक्षर बुझाएका छन्। उनले बुझाएको हस्ताक्षरमा भने एमालेका १२१ सांसदको हस्ताक्षर आफैंले र जसपाका ३२ जनाको सांसद महन्थ ठाकुर र राजेन्द्र महतोले गरेको बताइएको छ।

‘नेकपा (एमाले)का १२१ र जसपाका ३२ गरी १५३ जना सांसदको समर्थन आफूलाई रहेको पत्रसहित प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७६(५) वमोजिम प्रधानमन्त्री पदको लागि दाबी गर्नुभएको छ,’ प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले ट्विटरमार्फत् जानकारी गराएका छन्, ‘दाबीपत्रमा जसपाको तर्फबाट अध्यक्ष महन्थ ठाकुर तथा संसदीय दलका नेता राजेन्द्र महतो र एमालेका अध्यक्ष एवम् दलका नेता केपी शर्मा ओलीले हस्ताक्षर गर्नुभएको छ।’

तर जसपाका ३२ सांसदमध्ये भट्टराई-यादव पक्षले भने ओलीको विकल्पको लागि निकै अघिदेखि पहल गरिरहेका थिए।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार