१० श्रावण २०८१, बिहीबार

पत्रकार महासंघ कैलालीद्वारा आकस्मिक कोष स्थापना



धनगढी । कोरोना महामारीबाट पत्रकार/सञ्चारकर्मीहरूमा संक्रमण दर बढ्दै गएपछि नेपाल पत्रकार महासंघ, कैलालीले आकस्मिक कोष स्थापना गरेको छ ।

महासंघ, कैलालीको बिहीबार बसेको बैठकले आकस्मिक कोष स्थापना गर्ने निर्णय गरेको जनाइएको छ । बैठक महासंघका कैलाली अध्यक्ष हिमाल जोशीको अध्यक्षतामा बसेको थियो ।

कोरोना संक्रमणबाट प्रत्यक्ष प्रभावित पत्रकारहरूको स्वास्थ्य उपचारका साथै अन्य आवश्यक सहयोगका लागि सो कोष स्थापना गरिएको महासंघ, कैलालीले जनाएको छ ।

बैठकले महासंघका कार्यसमिति सदस्य दिपक उपाध्यायको संयोजकत्वमा तीन समिति समेत गठन गरेको छ । समितिको सदस्यहरूमा कार्यसमिति सदस्य शंकर बोहरा र सुनील आउजी रहेका छन् ।

समितिले सबैसंग समन्वय गरेर कोष बृद्धिका लागि काम गर्ने जनाइएको छ ।

बैठकपछि महासंघ, कैलालीका सचिव प्रेम चौधरीले एक बिज्ञप्ती जारी गर्दै आकस्मिक कोषमा सहयोग गर्न सबैमा आग्रह गरेका छन् ।
महासंघको बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाई कोरोनाबाट संक्रमित पत्रकारहरूको स्वास्थ्योपचारमा उचित प्रबन्ध मिलाइदिन आग्रह गरेको छ ।

विज्ञप्तीमा भनिएको छ– धनगढीमा रहेको पत्रकार महासंघ, कैलालीको आफ्नो भवनमा पत्रकारहरूका लागि आईसोलेशन सेन्टर संचालन गर्ने सोच बनाइएकोमा चिकित्सकहरूबाट ब्यबस्थापनका हिसाबले उपयुक्त नभएको सुझाब प्राप्त भएकोले प्रदेश सरकारले संचालन गर्ने आईसोलेशन सेन्टरमा नै पत्रकारहरूका लागि पनि उचित ब्यबस्थापन गरिदिन आग्रह गरेका छौ ।

महासंघ, कैलालीले पत्रकारहरूका लागि छिट्टै स्वास्थ्य सुरक्षा सामग्रीको ब्यबस्था गरिने जनाएको छ ।

महासंघले आकस्मिक कोषमा रकम जम्मा गर्न चाहने संघसंस्था तथा व्यक्तिहरूले नेपाल पत्रकार महासंघ कैलालीको नेपाल बैंक लिमिटेडमा रहेको खाता नम्बर १३७००१०६४८५९६७०००००१ मा रकम जम्मा गरिदिन हुन आग्रह गरेको छ ।

अहिलेको यो महामारीको अबस्थामा सबैले सजकता अपनाउनु नै सबैभन्दा उपयुक्त हो । आफ्नो दायित्व निर्वाह गर्ने क्रममा पत्रकार साथीहरूलाई पर्ने समस्या, सुरक्षा, उपचार लगायतका बिषयमा महासंघ जहिले पनि तपाईहरूका साथमा छ । समस्यामा परेका साथीहरूलाई सक्दो सहयोग गर्न महासंघ तयार रहेको पनि यसै बिज्ञप्ती मार्फत जानकारी गराईन्छ । साथै रिपोर्टिङमा निस्कदा पत्रकार महासंघ र स्थानीय प्रशासनबाट जारी प्रेस पास अनिवार्य राख्न तथा सरकारी मापदण्डको पालना गर्न महासंघमा पुनः अपील गर्दछ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार