३ जेष्ठ २०८१, बिहीबार

बेलौरी नगरपालिकामा नागरिक सहायता कक्ष सञ्चालन




धनगढी / कोभिड–१९ को दोस्रो लहरको व्यवस्थापन प्रणाली अन्र्तगत बुधबारबाट बेलौरी नगरपालिका परिसरमा नागरिक सहायता कक्ष सञ्चालन भएको छ ।

महिला नेतृ स्वैच्छिक तवरले सुरु गरिएको सँगसँगै अभियानले बेलौरी नगरपालिका र नेपाल राष्ट्रिय समाज कल्याण संघको सहकार्यमा नागरिक सहायता कक्ष सञ्चालन गरेको हो ।

“कोभिडको समयमा कोभिड संक्रमित तथा दीर्घरोगी र भईपरी आउने स्वास्थ्य समस्याबाट कोहि पनि नागरिकले सास्ती झेल्न नपरोस् भन्ने उद्धेश्यका साथ नागरिक सहायता कक्ष सुरु गरेका हौ”, अभियानका संयोजक लक्ष्मी श्रेष्ठले बताइन। नागरिक सहायक कक्षमा स्वास्थ्य सामग्री तथा सिटामोल, निम्स, जिंक चक्की, भिटामीन सी, भिटामीन डी लगायत औषधी, मास्क, स्यानिटाईजर, ग्लोभ्स, अक्सिमिटर, मास्क आदि राखिएका छन् ।

“हामी यो कक्ष मार्फत् हटलाईन नम्बरमा आएका स्वास्थ्य समस्याको समाधान खोज्नमा सहयोग गर्ने, कोभिड संक्रमित व्यक्तिको अवस्था हेरि नगरपालिका स्वास्थ्य शाखासँग समन्वयन गरी आवश्यक सल्लाह दिने, संक्रमित व्यक्तिलाई पोषणयुक्त खानेकुराको व्यवस्था गर्ने, दीर्घकालीन रोगी तथा सम्पर्कमा आएका बिरामीहरुबाट डाक्टरको प्रेस्किप्सन र नगरपालिकाको सहमतिमा घरदैलौमा औषधि पुगाउने सम्पूर्ण सहयोगको प्रतिवेदन तथा अभिलेख राख्ने काम गर्नेछौँ” बताउछन् कार्यक्रमका अर्का अभियन्ता अनुपमा महतारा ।

“यो सँगै अभियानले अक्सिजनको जोहो गर्ने, राहत सामग्री दाताको खोजी तथा स्थानीय सरकारसँग समन्वयन गरी वितरण गर्ने पनि यस अभियानको उद्देश्य रहेको यसै अभियानका अभियान्ता हिमेश थापा बताउछन् ।”

हालसम्म बेलौरी नगरपालिकालाई ६ वटा, पुर्नवास नगरपालिकालाई ८ वटा र ईर्मजेन्सि अवस्थामा रहेको तीन जना कोभिड संक्रमित बिरामीलाई तीनवटा अक्सिजन सिलिण्डर सहयोग गरेको छ । अब अभियानले पुर्नवास नगरपालिका, लालझाडी गाउँपालिका र बेलडाँडी गाउँपालिकामा पनि नागरिक सहायता कक्ष लगायत अन्य स्वास्थ्य सामग्री चाँडै नै सहयोग गर्ने योजना बनाएको ̋ अभियान्ता रुपेश विक बताउछन् ।

त्यस्तै, नेपाल राष्ट्रिय समाज कल्याण संघका बेलौरी शाखा प्रतिनिधि मीरा श्रेष्ठले कोभिड व्यवस्थापनमा सामाजिक उतरदायित्वलाई वहन गर्दै मानवीय सहायता अन्र्तगत यो सहकार्य गरेको बताइन । “नागरिक सहायता कक्ष अन्र्तगत हटलाईन नम्बरमा आएका जिज्ञासाहरुको व्यवस्थापन गर्ने, कोभिड संक्रमित व्यक्तिलाई आवश्यक सहयोग गर्ने र पालिका आईसोलेसन केन्द्र तथा घरमै आईसोलेसनमा बसेका संक्रमितलाई मास्क, स्यानिटाईजर, ग्लोभ्स, पिपिई सेट, अक्सिमिटर, लामखुट्टे नियन्त्रणका लागि झुल, प्यासेन्ट ट्रली, एन्टिजेन किट, भाईरेक्स पाउडर, पोषणयुक्त खानेकुरा, मेडिकल मास्क, टिस्यु पेपर, साबुन, मञ्जन, दाँत माझ्ने ब्रस आदि चाँडै नै सहयोग गर्ने योजना छ” उनले जानकारी दिइन ।

नागरिक सहायता कक्षका लागि आज सँगसँगै अभियानले एन्टिजेन किट ७५ पिस, भिटिएम १०० पिस, पीपीई सेट एक थान, स्यानिटाईजर पाँच लिटर, ह्यानड स्यानिटाईजर १०० पिस १२० (मिलि ) मास्क २५ पिस, सर्जिकल मास्क ३०० पिस, एक्जामिनेसन ग्लोभ्स १०० पिस, युटिलिटि ग्लोभ्स १० पिस, अक्सिमिटर एक पिस, डिजिटल थर्मामिटर एक पिस, सिटामोल ५०० ट्याब्लेट, भिटामीन सी ३०० पिस र निम्स २०० ट्याब्लेट सहयोग गरेको छ भने सो संस्थाले अटोमेटिक ह्यान्ड स्यानिटाईजर मेसिन १० सेट र स्यानिटाईजर १० सेट पाँच लि सहयोग गरेको छ ।

प्राविधिक व्यवस्थापनका कारण हटलाईन नम्बर उपलब्ध नभईन्जेलका लागि अभियानले सार्वजनिक गरेको मोबाईल नम्बर ९८६३६४६२५७ मा कोभिडका कारण स्वास्थ्य समस्या परेका जोकोहिले पनि सम्पर्क राख्न सकिने सो संस्थाले जनाएको छ ।

यो किसिमको सहकार्यको लागि नगरपालिका नगरप्रमुख पोतीलाल चौधरीले यसरी नै सहकार्य गरी अगाडि बढ्न सकेको खण्डमा पालिकाको कोभिड व्यवस्थापन अझ प्रभावकारी हुने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार