३ जेष्ठ २०८१, बिहीबार

सुदूरपश्चिमका छ वटा निजी अस्पतालले कोरोना संक्रमितको निःशुल्क उपचार गर्ने



धनगढी । सुदूरपश्चिम प्रदेशको छ वटा निजी अस्पतालहरुले कोरोना संक्रमितको निःशुल्क उपचार गर्ने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी अस्पताल तथा मेडिकल कलेजहरुसँग कोरोना संक्रमितको निःशुल्क उपचारका लागि सम्झौता गरेको हो।

स्वास्थ्य मन्त्रालयले सुदूरपश्चिम प्रदेशको छ सहित देशभरीका ३० वटा निजी अस्पताल तथा मेडिकल कलेजहरुले कोरोना संक्रमितको निःशुल्क उपचार गराउन सम्झौता गरेको मन्त्रालयका सहप्रवक्ता डा समिर अधिकारीले जानकारी दिए।

डाक्टर अधिकारीका अनुसार सुदूरपश्चिम प्रदेशमा निसर्ग अस्पताल प्रालि, नवजिवन अस्पताल, माया मेट्रो अस्पताल र कैलाली अस्पताल धनगढीले संक्रमितको निःशुल्क उपचार गर्ने भएको छ ।

यस्तै, पदमा अस्पताल र सुदूरपश्चिम सामुदायिक अस्पताल अत्तरियाले पनि संक्रमितको निःशुल्क उपचार गर्ने जनाइएको छ ।

डा अधिकारीका अनुसार अस्पतालहरुले कोभिड–१९ केयर युनिट संचालन गर्न स्वास्थ्य मन्त्रालयसँग सम्झौता समेत गरिसकेका छन्।

अब यी अस्पतालहरुमा उपचारका लागि पुग्ने कोरोना संक्रमितले आफैंले शुल्क तिर्न नसक्ने भएमा उनीहरुको अस्पतालले निःशुल्क उपचार गर्नुपर्ने हुन्छ। ती बिरामीहरुको उपचार गरेबापतको खर्च स्वास्थ्य मन्त्रालयले बेहोर्ने डा अधिकारीको भनाइ छ।

‘कुनै पनि कोरोना संक्रमितले मेरो उपचार खर्च म तिर्न सक्दिन वा तिर्दिन सरकारले नै मेरो उपचार गर्नुपर्छ भन्यो भने, त्यस्ता बिरामीको पनि यी निजी अस्पताल तथा मेडिकल कलेजमा निशुल्क उपचार हुन्छ,’ डा अधिकारीले भने, ‘यी अस्पतालहरुले कोरोना संक्रमितको उपचार गरेबापत लागेको खर्च स्वास्थ्य मन्त्रालयले बेहोर्छ।’

निजी अस्पताल र मेडिकल कलेजको उक्त सूचीमा निजामती अस्पताल पनि रहेको मन्त्रालयले जनाएको छ। निजामती अस्पतालमा पनि यो सुविधा लागू हुने छ।

डा अधिकारीका अनुसार सरकारी अस्पताल तथा केही मेडिकल कलेजहरुमा यसअघि नै कोरोना संक्रमितको निःशूल्क उपचार हुँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार