१० श्रावण २०८१, बिहीबार

आज र भोली भारी वर्षा, सर्तक रहन आग्रह



धनगढी । सुदूरपश्चिम सहित देशका विभिन्न स्थानमा बुधवार (आज) र भोलि (बिहीवार) ठूलो पानी पर्ने भएकाले सतर्क रहन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।

विभागले विशेष मौसमी बुलेटिन निकालेर भारतमा आएको ‘ताउ–ते’ चक्रवातका कारण आज सुदूरपश्तिम र कर्णाली प्रदेश तथा भोलि कर्णाली, सुदुरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको भन्दै सचेत रहन आग्रह गरेको हो ।

प्रदेश १, प्रदेश २ र वागमती प्रदेशका केही ठाउँमा पनि मध्यम तथा ठूलो पानी पर्न सक्ने विभागको अनुमान छ । विभागले मेघगर्जन, चट्याङ, हावाहुरी, असिना–पानी तथा नदीहरूमा बाढीको समेत सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

पूर्वी–मध्य अरब सागरमा विकसित शक्तिशाली समुद्री आँधी ताउ–ते सोमवार भारतको गुजरातमा बज्रिएपछि कमजोर भए पनि नेपालमा पर्सी शुक्रवारसम्म प्रभाव देखिने मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलले बताए ।

यस्तै विभागले उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिउँ पर्न थालिसकेकाले यो समयमा पर्वतारोहण नगर्न÷नगराउन पनि आग्रह गरेको छ । केही ठाउँमा बाक्लो हिमपातसमेत हुन सक्ने भएकाले आरोहणमा गएकाहरूलाई सुरक्षित रहन विभागको आग्रह छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार