२ जेष्ठ २०८१, बुधबार

कोरोना कहरका बीच बयालपाटा अस्पतालमा हाडजोर्नीका ६६ वटा सफल शल्यक्रिया



अछाम ।  जिल्लाको बयालपाटा अस्पतालमा वैशाख महिनामा मात्रै ६६ वटा हार्डजोर्नीका सफल शल्यक्रिया भएका छन्। २६ जना महिला र ४० जना पुरुषका गरी ६६ वटा हार्डजोर्नीका शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएका अस्पतालले जनाएको छ। 

हात खुट्टको हड्डी टुटेका, कुईना फुटेका, तिघ्रामा रड राख्नु पर्ने खालका शल्यक्रिया भएका अस्पतालका मेडिकल निर्देशक डा मन्दीप पाठकले बताए। कोरोनाको महामारीका बिच पनि शल्यक्रिया गर्न टिम सफल भएको उनले बताए।  

‘बिरामीको लागि अहिलेको अवस्थामा बाहिर जाने बिकल्प छैन, हामीले जोखिम लिएर भएपनि शल्यक्रिया गर्न सफल भएका छौँ। सामान्य समयमा त शल्यक्रिया भई नै रहेका हुन्छन्,’ डा पाठकले भने, ‘अहिलेको अवस्था एकदम उच्च जोखिम छ तर बिरामीको अवस्था हेरेर हामीले शल्यक्रिया गर्नु परिरहेको छ।’ 

अस्पतालमा स्वास्थ्यकर्मी समेत कोरोना संक्रमित भएका कारण जनशक्ति व्यवस्थापनमा भने केही समस्या भएको उनले जानकारी दिए।। ‘जनशक्ति कम भएपनि हामीले व्यावस्थापन गरेर बिरामीको उपचारमा कमी भने हुन दिएका छैनौँ,’ उनले भने। 
अस्पतालमा अछामसहित डोटी र बाजुराका बिरामीको पनि शल्यक्रिया भएको डा पाठकले बताए। 

वैशाखमा मात्रै ५४ जनाले लिए सुत्केरी सेवा
अस्पतालबाट वैशाख महिनामा मात्रै ५४ जनाले सुत्केरी सेवा लिएका छन्। कोरोना कहरका बिच पनि सुत्केरी, सर्जरी लगायतका आकस्मिक सेवा अस्पतालले निरन्तर प्रदान गरिरहेको डा पाठकले जानकारी दिए।

उनका अनुसार ५४ मध्ये १० जनाको शल्यक्रिया मार्फत बच्चा जन्माइएको हो। जोखिम अवस्थामा अस्पताल आएका गर्भवतीको शल्यक्रिया गरिएको उनको भनाइ छ। 

अस्पतालका डा दिल शाही रोक्काको टिमले प्रसूति सेवा दिएका थिए। ४४ जना सामान्य अवस्थामै सुत्केरी भएपनि १० जनाको अवस्था उच्च जोखिम रहेकाले शल्यक्रिया मार्फत सुत्केरी गराइएको डा दिलले बताए। 

‘कोरोना कहरका बिच जोखिम मोलेर भएपनि हामी महिला तथा बच्चाको ज्यान जोगाउन सफल भएका छौँ’ उनले भने।

अस्पतालले कोरोना महामारीका बेला बाहिरंग सेवा बाहेक फिबर क्लिनिक, अन्तरंग सेवा, आकस्मिक सेवा शल्यक्रिया लगायतका सेवा प्रदान गरिरहेको छ। 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार