११ बैशाख २०८१, मंगलवार

सामाजिक विकास समितिको सरकारलाई निर्देशन:कोरोना रोकथामका लागि थप प्रभावकारी बनाऊ



धनगढी। सुदूरपश्चिम प्रदेशमा सामाजिक विकास समितिले प्रदेश सरकारलाई कोरोना महामारी रोकथाम तथा नियन्त्रणमा तत्काल थप प्रभावकारी काम गर्न निर्देशन दिएको छ ।

समितिको बैशाख ३० गते भएको भर्चुअल मिटिङपछि मंगलबार समितिले प्रदेशको सामाजिक विकास मन्त्रालयलाई कोरोना महामारी रोकथाम र नियन्त्रणमा तत्काल प्रभावकारी कार्य अघि बढाउन निर्देशन दिएको छ ।

सामाजिक विकास समितिका सभापति कुन्ती जोशीले कोरोना रोकथाम र नियन्त्रणका लागि प्रदेश सरकारले निकै प्रयास गरिरहेको भए पनि समन्वय र कोरोना महामारी सम्बन्धी जनचेतनामुलक सन्देश प्रवाहमा कमजोरी रहेकोप्रति सरकारको ध्यानाकर्षण गरिएको बताइन् ।

समितिका सभापति जोशीले सरकारलाई दिएको निर्देशनबारे अनुमोदनसंग भनिन्– हामीले केही साताअघि प्रदेशका केही जिल्लाहरुको स्थलगत भ्रमण गरेर कोरोना महामारीको अवस्थाबारे अध्ययन गरेका थियौं । सुदूरपश्चिम प्रदेशमा कोरोना महामारीको उच्च जोखिममा रहेको पायौं ।

सभापति जोशीले कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि प्रदेश सरकारले काम गरिरहेको भए पनि समन्वय र प्रचारप्रसारमा कमजोरी रहेको बताइन् । उनले भनिन्– हामीले सामाजिक विकास मन्त्रालयलाई तत्काल संघ र स्थानीय सरकारहरुसंग बलियो समन्वय र सहकार्य गरेर कोरोना रोकथाम र नियन्त्रण कार्यलाई थप प्रभावकारी बनाउन निर्देशन दिएका छौं ।

उनले कोरोनाको पहिलो लहरको तुलनामा दोस्रो लहरमा कोरोना महामारी बारे आम नागरिकलाई सचेत तथा जानकार बनाउने खालका प्रयासहरुमा कमजोरी रहेको पाइएकोले यसबारे तत्काल प्रभावकारी कार्य अघि बढाउन सरकारलाई निर्देशन दिएको बताइन् ।

त्यस्तै, कोरोना नियन्त्रण र रोकथाम, परीक्षण, उपचार लगायतका सबै कार्यहरु एकद्वार प्रणालीबाट अघि बढाउन समेत सरकारलाई निर्देशन दिएको बताइन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार