निषेधाज्ञा उल्लंघन गर्नेलाई कारबाही गर्दै कञ्चनपुर प्रहरी
महेन्द्रनगर । कोरोना भाइरस नियन्त्रणका लागि सरकारले आह्वान गरेको निषेधाज्ञा उल्लंघन गर्ने व्यक्ति र सवारी साधनलाई कञ्चनपुर प्रहरीले धमाधम कारवाही गर्न थालेको छ।
गत वैशाख १६ गतेदेखि सोमबार साँझसम्म कञ्चनपुरमा प्रहरीले निषेधाज्ञा उल्लंघन गर्ने पाँच हजार ५१३ पैदलयात्री र नौ हजार २८६ सवारी साधनलाई कारवाही गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताए।
‘निषेधाज्ञा उल्लंघन गर्नेदेखि सरकारले स्वास्थ्य सतर्कता अपनाउन तोकिएको मापदण्डविपरीत गर्ने उद्योगदेखि विवाहका जन्तीसम्मलाई कारवाही गरिएको छ,’ प्रवक्ता थापाले भने, ‘लकडाउन पालना गर्न जिल्लाभर प्रहरी सक्रियरूपमा लागिपरेको छ।’
महेन्द्रनगरमा दुग्ध उद्योगमा मदिरा बिक्री गरिरहेको पाइएपछि सञ्चालकलाई नियन्त्रणमा लिनुका साथै स्वास्थ्य सुरक्षा सतर्कता नपनाएको भन्दै बिबी मार्टका दुई जनालाई कारवाही गरिएको उनले बताए।
‘मार्टका दुई जनालाई संक्रमण रोग ऐन, २०२० अन्तर्गत प्रमुख जिल्ला अधिकारीले ६ सय रुपैयाँका दरले जरिवाना गर्नुभएको छ,’ थापाले भने, ‘लकडाउन पालना नगर्ने पैदलयात्रीलाई होल्डमा राख्ने अभियान नै चलेको छ।’
कोरोनाको दोस्रो लहर शुरु हुनु अघिदेखि नै यहाँ प्रहरीले मास्कलगायतका स्वास्थ्य सुरक्षामा ध्यान नदिने व्यक्तिलाई जरिवाना गर्दै आएको उनले बताए।
गड्डाचौकी नाकाबाट गौरीफन्टा नाकाको डोकेबजारसम्म भारतबाट स्वदेश फर्किने नेपालीलाई गन्तव्यमा पठाउन र स्वास्थ्य परीक्षण गराउन आवश्यक व्यवस्थापनलगायतका काममा समेत कञ्चनपुर प्रहरी खटिँदै आएको छ ।