१३ बैशाख २०८१, बिहीबार

स्वास्थ्य मन्त्रालय भन्छ- कोरोना फैलिएको जिल्लामा संक्रमित खुलेआम हिँडिरहेका छन्



काठमाडौं । कोरोना संक्रमितहरु सार्वजनिक स्थानहरुमा खुलेआम हिँडीरहेको पाइएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नै सोमबार एक विज्ञप्ति जारी गर्दै कोरोना संक्रमण बढी भएका २० भन्दा बढी जिल्लामा संक्रमितहरु खुलेआम हिँडीरहेको जनाएको हो।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं, रुपन्देही, ललितपुर, भक्तपुर, मोरङ, कैलाली, कास्की, बाँके, दाङ, चितवन, सुर्खेत, झापा, कञ्चनपुर, मकवानपुर, धनुषा, काभ्रेपलाञ्चोक, सुनसरी, पर्सा, बर्दिया, पाल्पा लगायतका जिल्लाहरुमा संक्रमण उच्च रहेको र यी जिल्लाहरुमा संक्रमित व्यक्तिहरु सार्वजनिक स्थानहरुमा खुलेआम हिँडीरहेका छन् । यसरी संक्रमितहरु खुलेआम हिँड्दा संक्रमणको दर कम गर्न चुनौती थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको  चुनौती थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। 

यस्तै, अध्ययनहरुले अझै पनि जनस्वस्थ्यका मापदण्डहरुको राम्ररी पालना नभइरहेको र निषेधाज्ञाको समयमा पनि मानिसहरुको आवतजावतमा ५९ प्रतिशत मात्रै कमी भइरहेको पाइएको जनाएको छ।

अबका केही साता अझै पनि चुनौतिपूर्ण रहेकाले सबैजना संयमित हुनुपर्ने स्वास्थ्य मन्त्रालयको भनाइ छ।

कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि व्यक्ति, नागरिक समाज, संघसंस्था, गैरसरकारी क्षेत्र सबै सरकासँग हातेमालो गरी अघि बढ्नु आवश्यक रहेको समेत जनाएको छ।

स्वास्थ्य मन्त्रालय र फ्रन्टलाइनमा रहेका स्वास्थ्यकर्मीले मात्र चाहेर महामारी नियन्त्रण गर्न नसकिने भन्दै अन्य मन्त्रालय, प्रदेश र स्थानीय तहका सबै सरकारी निकायहरुको पनि महत्वपूर्ण भूमिका रहने स्वास्थ्य मन्त्रालयले जनाएको छ।

स्वास्थ्य मन्त्रालयले संक्रमणको जोखिम बढीरहेको अवस्थामा संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी भूमिका बढाउन सबैमा अनुरोध समेत गरेको छ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार